कार्यालय व्यवस्थापनमा भएको अवरोध र धम्कीबारे पत्रकार महासंघको ध्यानाकर्षण
कालञ्जर
मंसिर २
बेनी । संस्थाको कार्यालय व्यवस्थापनमा भैरहेको अवरोध र पत्रकारहरुमाथि लगाइएको आक्षेपयुक्त धम्कीप्रति नेपाल पत्रकार महासंघ, म्याग्दीले संस्थाको ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघले जिल्लाका सरोकारवालाहरुको ध्यानाकर्षण गराएको हो ।
महासंघको कार्यालय व्यवस्थापनका लागि बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको जग्गा र भवन खाली गराइदिन पत्राचार गरिएको विषयमा समाचार प्रकाशन प्रशारण गरेको भन्दै शाखा अध्यक्ष प्रकाश पौडेल र सदस्य कृष्ण जिसी सञ्चालक रहेको जलजला अनलाइनको नाम किटान गरी आक्षेपयुक्त र आपत्तिजनक शब्दावली प्रयोग गरेर ‘नेपाल कम्युनिष्ट पार्टी, म्याग्दी’ का जिल्ला सेक्रेटरी ‘दिपा’ को नामबाट बिहीबार बिहान विज्ञप्ति सार्वजनिक भएको थियो ।
“शान्तिपुर्ण खुल्ला राजनीतिमा आएको दलका जिम्मेवार नेताले सञ्चार माध्यममा प्रकाशित, प्रशारित समाचारका विषयमा चित्त नबुझेमा सम्बन्धित सञ्चार माध्यमबाट नै खण्डन गर्ने र कानुनी उपचार खोज्नुको साटो जिल्लाका सबै पत्रकारहरुलाई आक्षेप लगाएर विज्ञप्तिमार्फत अप्रत्यक्ष रुपमा धम्काउन खोज्नुले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संबैधानिक अधिकारमाथि प्रहार भएको महशुस गरेका छौ,’’ शाखा सचिव सन्तोष गौतमद्वारा बिहीबार जारी भएको विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र रुपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण बनाउन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टी र सुरक्षाको प्रत्याभुति दिलाउन सम्बद्ध पक्षसँग माग गर्दछौ ।”
नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र पत्रकारहरुमाथि लगाइएको आक्षेपको खण्डन गर्दै विज्ञप्तिमा भ्रममा नपर्न अनुरोध गरिएको छ । बेनी नगरपालिका–७ मा रहेको १४१९ कित्ता नम्बरको ४ आना जग्गामा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालय व्यवस्थापन गर्न २०७६ मंसिर १७ गते बसेको बेनी नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार दश वर्षका लागि बर्सेनि रु. दश हजार भाडा तिर्नेगरी २०७६ पुष ३ गते हस्ताक्षर गरी सम्झौता भएको थियो । महासंघका कोषाध्यक्ष अमित विश्वकर्माले सम्झौताअनुसार महासंघले दुई वर्षको भाडाबापत २० हजार रुपैयाँ उपलब्ध गराइसकिएको जानकारी दिए ।
पत्रकार महासंघ म्याग्दी शाखाको भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा दश लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, भाडामा लिइएको जमिनमा रहेको पुरानो भवनमा बस्दै आएका व्यक्तिले अटेर गरी खाली नगर्दा महासंघले कार्यालय व्यवस्थापन गर्न सकिरहेको छैन ।
“भाडामा दिने नगरपालिका र लिने पत्रकार महासंघबीचको विषयमा अरु पक्षहरुको सम्बन्ध नरहेको पनि स्पष्ट पार्न चाहन्छौ,” विज्ञप्तिमा अगाडि भनिएको छ, “जिल्लास्थित सबै राजनीतिक दल, बेनी नगरपालिका, प्रशासन, सुरक्षा निकाय र सरोकारवालाहरुसँग छलफलको माध्यमबाट सहमति कायम गरी पत्रकार महासंघको कार्यालय व्यवस्थापनका लागि सहज वातावरण बनाइदिन अनुरोध गर्दछौं ।”
म्याग्दीमा वि.सं. २०६३ मा सालमा नेपाल पत्रकार महासंघको शाखा स्थापना गरिएको थियो ।