बेनीमा विप्लवको उद्घोषः “जनताको अधिकार स्थापित नभए विद्रोह रोक्न सकिन्न”

कालञ्जर

मंसिर ८



बेनी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जनताका अधिकार स्थापित नभए त्यसपछि हुने विद्रोहलाई कसैले रोक्न नसक्ने चेतावनी दिएका छन् । म्याग्दी सदरमुकाम बेनीमा बुधबार आयोजित मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।


“शहीद परिवार, घाइते र बेपत्ता भएका व्यक्ति र तिनका परिवारप्रति राज्यले बेवास्ता गरेको छ,” महासचिव विप्लवले भने, “जनयुद्ध लडेका र परिवर्तनको लागि मरिमेट्नेहरुले आत्मसम्मानको अनुभव नगरेसम्म र जनताको अधिकार स्थापित नभएसम्म वास्तविक परिवर्तन भएको मान्न सकिन्न ।” माओवादी केन्द्रसँग पार्टी एकता हुनेबारे सञ्चारमाध्यममा आएका हल्लाको विश्वास नगर्न अनुरोध गर्दै नेता विप्लवले भने, “पार्टीलाई ठूलो बनाउन, चुनाव जित्न, मन्त्री हुन वा विदेशीसँगको सम्बन्ध विस्तार गर्नका लागि मात्रै पार्टी एकता हुँदैन ।” 


नेपालले अङ्गीकार गरेको संसदीय व्यवस्थाले समस्याको समाधान गर्न नसक्ने दावी गर्दै उनले भने, “वैज्ञानिक समाजवाद स्थापनाका लागि तयार रहेका दलसँग मात्रै पार्टी एकताको विषयमा सोच्न सकिन्छ ।” नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल विप्लव नेतृत्वको माओवादीसँग कार्यगत एकता र भविष्यमा पार्टी एकता गर्नेबारे छलफल भएको भन्ने आशयका विचार व्यक्त गरिरहेका बेला विप्लवको पछिल्लो धारणा सार्वजनिक भएको हो । “नेपाली जनतालाई केन्द्रमा राखेर नयाँ विचार, नयाँ लक्ष्य र उद्देश्यको आधारमा माओवादीसँग एकता हुन सक्छ तर यही व्यवस्था र संविधान ठीक छ भन्ने दलसँग एकता हुन्छ भन्नु औचित्यहीन कुरा हो ।”




एक फरक प्रसङ्गमा बोल्दै महासचिव विप्लवले केपी ओली नेतृत्वको सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेको सरकारले चासो नदेखाएको बताएका छन् । जनताको अधिकार स्थापित गर्ने कुरामा पार्टीले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै उनले भने, “हाम्रो लडाइँ नेपाली जनताका लागि हो, संवाद, सहमति वा यस्तै बहानामा सरकार वा कुनै पार्टीले अल्मल्याउन खोजे त्यो मान्य हुँदैन ।” 


जनताको अधिकारलाई स्थापित गर्न जनमत संग्रह आवश्यक रहेको जिकिर गर्दै महासचिव विप्लवले भने, “पैसाले किनेर जितिने संसदीय चुनावको अब कुनै औचित्य छैन । जनमत संग्रह आजको नेपाली राजनीतिको अग्रगामी निकास हो ।” यूवाहरुलाई देशको बारेमा धेरै निराश नहुन भन्दै महासचिव विप्लवले जनताको व्यवस्था नआउँदासम्म लडाइँ निरन्तर रहने प्रतिबद्धता जनाएका थिए ।




नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर, अखिल नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय सचिव उषा मगर, केन्द्रीय सदस्य रामलाल विश्वकर्मा, आस्था, लगायतले मन्तव्य व्यक्त गरेको सम्मेलनको उद्घाटन सत्रमा सामना परिवारको जनवादी गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । मगर मुक्ति मोर्चा नेपालका अध्यक्ष गमबहादुर श्रीषको अध्यक्षता र ईन्द्र घर्तिमगरको सञ्चालन रहेको सम्मेलन शुरु हुनुपूर्व बाजागाजा, जातीय झाँकी तथा नाराजुलुससहितको र्यालीले सदरमुकाम बेनीबजारको परिक्रमा गरेको थियो।


जिल्ला समन्ववय समितिको सभाहलमा शुक्रबारसम्म सञ्चालन हुने सम्मेलनको बन्द सत्रले मगर मुक्ति मोर्चाको नयाँ कार्य समिति निर्वाचित गर्ने आयोजकले जनाएको छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes