काँग्रेस म्याग्दीको सभापतिमा खम्वीर गर्बुजा दोहोरिए
कालञ्जर
मङ्सिर १
बेनी । नेपाली कांग्रेस म्याग्दीको सभापति पदमा खमबहादुर गर्बुजा (खम्वीर) दोहोरिएका छन् । नेपाली काँग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनले गर्बुजालाई नै दोस्रो कार्यकालका लागि सर्वसम्मतरुपमा छनोट गरेको हो ।सभापति पदमा गर्वुजाबाहेक अरुको मनोनयन दर्ता नभएपपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य विनयकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
सभापतिमा निर्वाचित गर्बुजा शेरबहादुर देउवा पक्षधर नेता हुन् ।
त्यसैगरी अधिवेशनबाट महिलातर्फ जिल्ला सदस्यमा बेनी नगरपालिकाबाट मनकुमारी तुलाचन, अन्नपूर्ण गाउँपालिकाबाट महिला सदस्यमा पुष्पा बानियाँ बरुवाल, धवलागिरि गाउँपालिकाबाट महिला सदस्य रामदेवी पुन, अन्यतर्फको सदस्यमा काजिमान रोका, मालिका गाउँपालिकाबाट मनरुपा पुन र अन्यतर्फको जिल्ला सदस्यमा मालिका गाउँपालिकाबाट चुनु पुन, मंगला गाउँपालिकाबाट महिलातर्फको जिल्ला सदस्यमा युगकुमारी सेन, खसआर्यतर्फको महिला सदस्यमा लक्ष्मीकुमारी केसी निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधितर्फ आपांग अन्यतर्फ सुरेन्द्र खत्री निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा दुई जना निर्वाचित हुने जिल्ला उपसभापति पदमा ६ जनाको मनोनयन दर्ता भएको छ । उपसभापतिमा कर्णबहादुर भण्डारी, माधवप्रसाद रेग्मी, क्याप्टेन डमबहादुर पुन, क्याप्टेन मिनबहादुर कार्की, हरिकुमार श्रेष्ठ र कमल छन्त्यालको उम्मेदवारी परेको छ ।
त्यसैगरी दुई जना निर्वाचित हुने सचिब पदमा चार जनाको उम्मेदवारी परेको छ । सचिब पदमा अजयमिलन श्रेष्ठ, भरत रकाल, दुर्गाराम सुवेदी र हिराबहादुर पुनको उम्मेदवारी परेको छ ।
त्यस्तै, दुई जना निर्वाचित हुने सहसचिब पदमा तीन जनाको उम्मेदवारी परेको छ । उक्त पदमा कोमलप्रसाद उपाध्याय, ध्रुवराज कार्की र श्रीराम पौडेलले मनोनयन दर्ता गराएका छन् ।
नेपाली काँग्रेसको राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट खुल्ला र समावेशी गरी २५ जना महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । सभापति पदमा सहमति कायम भएकाले अन्य पदहरुमा पनि सहमतिबाट टुङ्गो लगाइने नेताहरुको भनाइ छ ।