कोरोनाविरुद्ध नेपालः २५ प्रतिशत नागरिकले पाए पूर्ण खोप
कालञ्जर
मंसिर २
दुई वर्षअघि शुरु भएको कोरोना महामारीविरुद्ध लड्न करिव २५ प्रतिशत नेपालीले खोपको पूर्ण मात्रा पाएका छन् । केन्द्रीय तथ्याङ्क विभागको प्रक्षेपण अनुसार नेपालको जनसंख्या हाल तीन करोड तीन लाख ७८ हजार ५५ रहेको छ ।
जसमध्ये ७७ लाख १३ हजार चार सय ९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । जुन २५.४ प्रतिशत हुन आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, बिहीवार दिउँसो २ बजेसम्मको तथ्यांक अनुसार नेपालमा ८९ लाख ९६ हजार दुई सय ५३ जनाले कम्तिमा पहिलो मात्रा खोप लगाएका छन् । जुन कुल जनसंख्याको २९.६ प्रतिशत हुन आउँछ।
हालसम्म नेपालमा एक करोड ६७ लाख नौ हजार छ सय ६२ मात्रा कोभिड–१९ विरुद्धको खोप वितरण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
सो अवधिसम्म नेपालमा अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरी विभिन्न देशमा उत्पादित खोप ३० लाख १९ हजार एक सय ८८ जनालाई कम्तिमा पहिलो मात्रा दिइएको छ भने १७ लाख ५४ हजार चार सय २६ जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।
त्यस्तै, चिनियाँ खोप भेरोसेल ५९ लाख ७३ हजार एक सय ७२ जनाले पहिलो मात्रा लगाएका छन्। जसमध्ये ४४ लाख १५ हजार चार सय ८६ जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।
अमेरिकी खोप जोनसन एण्ड जोनसनको पूर्ण मात्रा खोप १५ लाख ४३ हजार चार सय ९७ जनाले लगाएका छन् ।
गत कात्तिक २८ गतेदेखि नेपालमा फाइजर–वायोएनटेकको खोप वितरण थालिएको छ। बिहीवार २ बजेसम्मको तथ्यांक अनुसार तीन हजार आठ सय ९३ जनालाई सो खोपको पहिलो मात्रा दिइएको छ। फाइजरको खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई पहिलो प्राथमिकतामा राखेर वितरण गरिएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा थप ७१ हजार आठ सय ९२ मात्रा खोप वितरण भएको छ ।
बिहीवार दिउँसो २ बजेसम्म पछिल्लो २४ घण्टामा १६ हजार २४ जनालाई अस्ट्राजेनेकाको पहिलो मात्रा र चार हजार नौ सय १३ जनालाई दोस्रो मात्रा खोप लगाइएको छ ।
त्यस्तै, सोही अवधिमा १७ हजार छ सय ८५ जनालाई भेरोसेलको पहिलो र ३२ हजार पाँच सय ९७ जनालाई दोस्रो मात्रा दिइएको छ। त्यस्तै छ सय ७३ जना दीर्घरोगीलाई फाइजरको पहिलो मात्रा दिइएको छ ।