हुर्पेस म्याग्दीको सभापतिमा गौतम चयन
कालञ्जर
मङ्सिर ७
बेनी । मानवअधिकार तथा शान्ति समाज (हुर्पेस) म्याग्दीको सभापतिमा सन्तोष गौतम छनोट भएका छन् । सोमबार सदरमुकाम बेनीमा सम्पन्न संस्थाको १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले गोतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिवमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा विष्णुप्रसाद आचार्य र सहसचिवमा विष्णु गौतम सापकोटा चयन भएका छन् । त्यसैगरी संस्थाका सदस्यहरुमा नवराज रिजाल, शकुन्तला सापकोटा पौडेल, विनोद श्रेष्ठ, विज्ञान सुवेदी, हरि गिरी र सन्तोष ढुङ्गाना चयन भएका छन् ।
साधारण सभामा बोल्दै मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय महासचिव रामकृष्ण बरालले वर्तमान अवस्थामा शाखा सञ्चालन तथा कार्यक्रमहरु गर्न समस्या रहेको धारणा राखेका थिए । म्याग्दी शाखामार्फत् पवित्र कालीगण्डकी नदी संरक्षण गर्नका लागि अभियान सञ्चालन गर्न सकिने बताउँदै महासचिव बरालले वातावरण संरक्षण गरी मानव सभ्यता कायम राख्नुपर्ने आवश्यकता औंल्याए ।
सोही कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाज नेपालका पूर्व केन्द्रीय सभापति उत्तम पुडासैनीले शान्ति समाज तथा मानव अधिकारका शाखामार्फत् समाजमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न सकिने बताएका थिए । जलवायु परिवर्तनको कारण पछिल्लो समय विभिन्न क्षेत्रमा असर देखिएको बताउँदै पुडासैनीले वातावरण संरक्षणका साथै हिमालय क्षेत्रको बचाउका लागि सबै लाग्नुपर्ने धारणा राखे । केन्द्रमा प्रतिनिधि गएर मात्रै जिल्लाको तात्विक परिवर्तन नहुने भन्दै पूर्व केन्द्रीय सभापति पुडासैनीले जिल्ला शाखामार्फत् समुदायस्तरमा पुगेर जनचेतना फैलाउन आवश्यक रहेको सुझाएका थिए ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज नेपालका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद सुवेदीले वातावरणको संरक्षण गर्न, कालीगण्डकी नदीलाई स्वच्छ बनाउन र पशु, चौपायाको व्यवस्थापन गर्नका लागि सबै क्षेत्रबाट आवश्यक सहयोग हुनुपर्ने धारणा व्यक्त गरेका थिए । साधारण सभालाई मानव अधिकार तथा शान्ति समाज काठमाडौंका सभापति भगवान् पुडासैनी, म्याग्दी शाखाका निवर्तमान सभापति ठाकुरप्रसाद शर्मा र पूर्व सभापति लक्ष्मण शर्माले सम्बोधन गरेका थिए ।
मानवअधिकार तथा शान्ति समाज म्याग्दीका सचिव हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष मुकुन्दप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको साधारण सभामा शाखा सभापति नवराज पौडेलको अध्यक्षता, उपसभापति सन्तोष गौतमको स्वागत र सचिव हरिप्रसाद पौडेलको सञ्चालन रहेको थियो ।