प्रथम जिल्लास्तरीय किशोरी सम्मेलनबाट ११ बुँदे बेनी घोषणापत्र जारी
कालञ्जर
मङ्सिर ७
सामाजिक विकास कार्यालय र संगम म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिकाको समन्वय तथा गल्र्स फस्ट फण्डको आर्थिक सहयोगमा प्रथम किशोरी सम्मेलन सम्पन्न भएको छ । ३२औं अन्तर्राष्ट्रिय बालअधिकार दिवस (नोभेम्बर २०) को सन्दर्भमा म्याग्दी सदरमुकाम बेनीमा गत शुक्रबार जिल्लास्तरीय प्रथम किशोरी सम्मेलन आयोजना गरिएको हो ।
समुदायस्तरमा हुने गरेको बालविवाह न्युनीकरण गर्ने उद्देश्यसहित आयोजित प्रथम किशोरी सम्मेलनले किशोरीहरुसँग सम्बन्धित ११ बुँदे बेनी घोषणापत्र जारी गरेको छ । सम्मेलनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले चेतना र कानुनी ज्ञानको अभाव भएको ठाउँमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए । उनले जिल्लाको दुरदराजका किशोरी र अभिभावकहरुसँग सम्बन्धित कार्यक्रम गर्न आवश्यक कार्ययोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
सोही कार्यक्रममा बोल्दै धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले आफ्नो पालिकाभित्र बालविवाह न्युनीकरण गर्न उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएकी थिइन् । समुदायमा बालविवाह समस्याको रुपमा रहेकाले यसको समाधानका लागि सबै लाग्नुपर्ने आवश्यकता औंल्याउँद अध्यक्ष पुनले आजको किशोरी भोलिका लागि एउटा असल बुहारी, डाक्टर, पाईलट, इन्जिनियर नर्सका साथै देशको नेतृत्व तहमा पुग्ने भएकाले उनीहरुको व्यक्तित्व र नेतृत्व विकास महत्वपूर्ण रहेको धारणा राखेकी थिइन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले विषयवस्तुको जानकारी, क्षमता र इच्छाशक्ति भएमा जुनसुकै क्षेत्रमा पनि काम गर्न सकिने बताए । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले विद्यालयमा सेनेटरी प्याड उपलब्ध भए पनि अन्यत्र नभएकाले यसको व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताइन् । गैरसरकारी संस्था महासंघ, म्याग्दीका निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेलले जनप्रतिनिधि र प्रशासकहरुले किशोरी सम्मेलन कार्यक्रमप्रति वेवास्ता गरेको आरोप लगाएका थिए ।
सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा र संगम म्याग्दीका कार्यकारी निर्देशक भरतप्रसाद केसीले सहजीकरण गरेको कार्यक्रममा बालविवाह न्युनीकरणमा उत्कृष्ट भूमिका निर्वाह गरेका धनजनता माध्यमिक विद्यालय मुनाको किशोरी सञ्जाल अध्यक्ष नरदेवी विक र ताकम माविका अध्यक्ष करुणा परियारलाई गल्र्स च्याम्पियन अवार्डअन्तर्गत नगद पाँचहजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसैगरी उत्कृष्ट किशोरी समूहतर्फ चन्द्रज्योती मावि मुदी खिबाङलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला् प्रदान गरिएको थियो भने ताकम माविलाई साढे १० हजार रुपैयाँ बराबरको साउण्ड सिस्टम, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) वीरेन्द्रराज गुरुङ, किशोरी सञ्जालका केन्द्रीय सदस्य सबनम मल्ल र किशोरी सञ्जाल धनजनता माविका अध्यक्ष नरदेवी विकले मन्तव्य राखका थएि । किशोरी सञ्जाल ताकम माविका अध्यक्ष करुणा परियारको अध्यक्षता र संगम म्याग्दीका शिक्षा विकास अधिकृत चन्द्रप्रसाद बुढामगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख रमेश थापाले स्वागत र संगमका अध्यक्ष दिपक पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
यसैबीच प्रथम जिल्लास्तरीय किशोरी सम्मेलनले रघुगंगा मावि राखुपिप्लेका शिक्षक मेघा रिजालको संयोजकत्वमा १५ सदस्यीय जेन्डर फोकल शिक्षकहरुको नेटवर्क गठन गरेको छ । नेटवर्कको सदस्यहरुमा कविता नेपाली, सलिना थापा, सरस्वती सुवेदी, पवित्रा बोगटी केसी, सुशीला केसी, ईन्दु लामिछाने, माया थापा बानियाँ, निरुता बुढाथोकी, गीता सुवेदी, ईश्वरादेवी शर्मा, गंगारेग्मी पौडेल, कृष्णकला सुवेदी, प्रतिक्षा केसी र सदस्य सचिवमा संगम म्याग्दीका कार्यक्रम संयोजक खिमा पूर्जा रहेका छन् ।
त्यसैगरी किशोरी सम्मेलनबाट नरदेवी विक अध्यक्ष, प्रमिला खड्का उपाध्यक्ष, धनमाया श्रेष्ठ सचिव, अर्चना सुवेदी सहसचिव र हिरा नेपाली कोषाध्यक्ष रहेको १९ सदस्यीय जिल्लास्तरीय किशोरी समूह गठन भएको छ ।
समूहको सदस्यहरुमा सुमिना गर्बुजा, वर्षा लामगादे, प्रकृति सुवेदी, विपना कार्की, निशा विक, तानिया रन्तिजा, अश्मी परियार, संगीता भण्डारी, आशिका परियार, अनुजा परियार, चनिसा छन्त्याल, बबिता पुन, करुणा परियार र लकिसा छन्त्याल रहेका छन् । शिक्षकको नेटवर्क तथा किशोरी समूहले जिल्लामा बालविवाह न्युनीकरण, किशोरीमाथि हुने हिंसालगायत विभिन्न विषयहरुमा सचेतनामूलक कार्यक्रमसहित वकालत गर्ने जनाएको छ ।