१५औं वार्षिकोत्सवमा गरिमा बैंकको रक्तदान
कालञ्जर
मङसिर ७
बेनी । संस्थाको १५औं वार्षिकोत्सवको अवसर पारेर गरिमा विकास बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मङ्गलबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । बेनी नरपालिकाका मेयर हरिकुमार श्रेष्ठले ब्लडव्याग हस्तान्तरण गरेपछि रक्तदान कार्यक्रम शुरु भएको थियो । सो अवसरमा बोल्दै मेयर श्रेष्ठले वित्तीय कारोबारसँगै बैंकले सामाजिक उत्तरदाहित्व अन्तर्गतका शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्दै आएको बताए । संस्थाको वार्षिकोत्सवको अवसर पारेर बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्वका काम गर्दै आएको मेयर श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा बोल्दै सञ्चालक समितिका सदस्य दिपेन्द्र श्रेष्ठले सामाजिक क्षेत्रमा योगदान पु¥याउने उद्देश्यसहित रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका थिए ।
नेपाल रेडक्रस सोसाईटी बेनी शाखा अन्तर्गतको रक्त सञ्चार केन्द्रको प्राविधिक संयोजनमा संकलन भएको रगतलाई बेनी अस्पतालका बिरामीसँगै आवश्यकता अनुसार जिल्ला बाहिर समेत पठाउन सकिने केन्द्रका सयोजक सुरत केसीले जानकारी गराए । कार्यक्रममा जिल्लामा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुले रक्तदान गरेका थिए । रक्तदानमा सहभागी ३० जनाबाट ३० पिन्ट रगत सङ्कलन भएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।
रक्तदान कार्यक्रमको अध्यक्षता सञ्चालक श्रेष्ठ, स्वागत पोखरा कलस्टर प्रमुख भोलाप्रसाद तिवारी र सञ्चालन बागलुङ शाखा प्रमुख नारायणहरी शर्माले गरेका थिए ।
गरिमा विकास बैंकले म्याग्दी सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बाबियाचौर, दरबाङ र उत्तरी क्षेत्रको पोखरेबगरमा शाखा सञ्चालन गरेको छ ।