नेपालले भारतमा बिजुली बेच्ने अनुमति पायो
कालञ्जर
कात्तिक १५
बेनी । नेपालले आफुले उपयोग गरेर जगेडा रहेको बिजुली भारतीय बजारमा बेच्ने अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा नेपालले बिजुली बेच्न सक्ने अनुमति सोमबार प्राप्त गरेको हो ।
भारतीय आधिकारिक निकायबाट अनुमति पाएपछि प्राधिकरणले पहिलो चरणमा आफ्नो स्वामित्वमा नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिएको छ ।
दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको प्राधिकरणस्रोतले बताएको छ । प्राधिकरणले आज राति राति १२ बजेबाट जनकपुरस्थित ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताएकी छिन् । “राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका लागि अनुमति पाएका छौँ”मन्त्री भुसालले भनिन् ।
नेपाल–भारतबीचको विद्युत व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत भारतीय बजारमा निर्यात शुरु भएको छ । यससँगै नेपालको जलविद्युतको विकास र बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।