पुलाचौर बलात्कार काण्डका तीन आरोपी सार्वजनिक
कालञ्जर
कार्तिक २२
बेनी । म्याग्दीको पुलाचौरमा भएको सामुहिक बलात्कारको घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलनको आयोजना प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बेनी नगरपालिका–५ पुलाचौर बस्ने वर्ष २२ का प्रकाश रामदाम, वर्ष १८ का प्रवेश रामदाम र वर्ष २४ का हिटमेन बानियाँ रहेका छन । बलात्कारको घटनापछि फरार रहेका तीनै जनामध्ये दुई जनालाई कास्की र एक जनालाई रुपन्देहीबाट पक्राउ गरी आवश्यक कानूनी कारवाही प्रकृया अगाडि बढाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।
प्रहरीका अनुसार प्रतिबादीहरु (बलात्कार आरोपी तीन जना) ले पीडितको घरको झ्यालमा लात्ताले हानी चुक्कुल फुकालेको र घरभित्र प्रवेश गरी सामुहिक रुपमा जबरजस्ती करणी गरी सोही रात फरार भएका थिए । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुशन्धान कार्य भइरहेको प्रनाउ राईले बताए ।
यही कार्तिक २ गते राति भएको घटनाबाट पीडित बनेकी महिलाले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
आरोपीमाथिको कसुर पुष्टि भएमा उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिमको कसूरमा सोही दफाको उपदफा (३) को (ङ) अनुसार अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद सजायँको व्यवस्था छ । यसका साथै उपदफा (७) बमोजिम सामूहिक रुपमा जरबजस्ती करणी पुष्टि भएमा थप पाँच वर्षसम्म कैद सजायँ हुने कानुनी व्यवस्था छ ।