आजबाट १२औं राष्ट्रिय जनगणना शुरु
कालञ्जर
कार्तिक २५
तस्वीरः रासस |
नेपालको १२औं राष्ट्रिय जनगणना आजदेखि शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुआत गरिएको हो । बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्याङ्क उपलब्ध गराउँदै औपचारिक शुरुवात गरेकी हुन् ।
बिहीबारबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण सङ्कलन गर्दै देशभर १२औं राष्ट्रिय जनगणना शुरु भएको छ । राष्ट्रपतिको जनगणनाका लागि शीतलनिवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बिहीबार बिहान राष्ट्रपति निवासमा पुगेका थिए ।
जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गर्न थालेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता’ नारा तय गरिएको यसपटकको जनगणना आजबाट शुरु भई मंसिर ९ गते सकिनेछ ।
जनगणना गर्न देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक खटाइएको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ ।
यसैबीच जनगणनाका लागि घरमा आउने गणकहरुलाई सही विवरण टिपाउन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेका छन् । बिहीबार केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रपति तथा प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक गरेको हो । राष्ट्रपति भण्डारीले मंसिर ९ गतेसम्म सबै नेपालीको व्यक्तिगत तथा पारिवारिक विवरण संकलन गर्न गणक खटिएको भन्दै सही विवरण टिपाउन आह्वान गरेकी छिन् ।
त्यसैगरी प्रधानमन्त्री देउवाले देश विकासका लागि उपयुक्त नीति बनाउन, व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्न जनगणना महत्वपूर्ण रहेको सन्देशमा बताएका छन् ।