धार्मिक पर्यटनको विकासमा जोड दिँदै गण्डकी सरकार
कालञ्जर
कार्तिक २५
बेनी । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटनको विकासमा जोड दिने भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा बेनी, म्याग्दीको आयोजनामा बिहीबारदेखि बेनीमा शुरु भएको गीता ज्ञान महायज्ञको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताएका हुन् । धर्मको प्रचारप्रसारसँगै पर्यटनको समेत विकास गर्न सकिने बताउँदै मन्त्री शर्माले पर्यटन प्रवद्र्धनका लागि धार्मिक क्षेत्रको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, बेनी म्याग्दीको आश्रम निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने बताउँदै मन्त्री शर्माले आश्रमलाई व्यवस्थित बनाउन सहयोग जुटाउने प्रतिबबद्धता पनि जनाएका छन् । दैनिक जीवनमा आइपर्ने तनाव कम गर्न योग, ध्यान तथा सकारात्मक सोच र सन्तुलित आहारविहार गनुपर्नेतर्फ जोड दिँदै मन्त्री शर्माले धार्मिक पर्यटनको विकासका लागि गण्डकी सरकारले सहयोग गर्ने बताए ।
महायज्ञ सञ्चालनको उद्देश्यमाथि प्रकाश पार्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका महासचिव शैलेशराज बरालले दैनिक जीवनमा बढ्दो तनाव व्यवस्थापन, शान्ति स्थापना र सकारात्मक सोचको विकासका लागि श्रीमद्भागवत् गीता ज्ञान महायज्ञ तथा व्यावहारिक एवं वैज्ञानिक प्रवचन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका निर्देशक ब्रह्माकुमारी प्रणिता दिदीले योग, ध्यान र तपस्याले आध्यात्मिक जागृति एवं आत्मजागरण, तनाव व्यवस्थापन तथा द्वन्द्व न्युनीकरण हुने अनुभव सुनाएकी थिइन् ।
महायज्ञको उद्घाटनसत्रमा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ तथा आयोजक संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदरमुकाम बेनीबजारमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा बेनी, म्याग्दीसहित जिल्लास्थित विभिन्न संघसंस्था, जातजाति, नौमती बाजा र भजनकिर्तनका साथै नाचगान गरेर बजारको परिक्रमा गरिएको थियो । आउँदो सोमबारसम्म म्याग्दीको बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रवचन हुने कार्यक्रम छ ।