कार्यालय भवन बनाउन पत्रकार महासंघले जग्गा पाएन

कालञ्जर

मङ्सिर १


बेनी । सम्झौता भएको दुई वर्ष पुग्न लाग्दासम्म जग्गा र भवन खाली नभएपछि उक्त ठाउँ खाली गरिदिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ, म्याग्दीले बेनी नगरपालिकालाई पत्राचार गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा मङ्गलबार बेनी नगरपालिकामा पुगेको पत्रकार महासंघको टोलीले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई उक्त पत्र बुझाएको हो । 


नेपाल पत्रकार महासंघ, म्याग्दीको कार्यालय सञ्चालन गर्नका लागि महासंघ र बेनी नगरपालिकाका बीचमा २०७६ मंसिरमा भाडा सम्झौता भएको थियो । बेनी नगरपालिका–७ मा अवस्थित कित्ता नम्बर १४१९ को चार आना जग्गा प्रयोग गरेबापत महासंघले वार्षिक रु. दश हजार भाडा तिर्नेगरी सम्झौता भएको थियो । तर, सम्झौता भएको दुई वर्ष पुग्न लाग्दासमेत सम्झौता भएको जग्गा र भवन खाली नभएपछि महासंघले नगरपालिकालाई यस्तो अनुरोध गरेको हो । यसअघि मङ्गलबार बसेको पत्रकार महासंघ, म्याग्दीको बैठकले जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै पत्राचार गर्ने निर्णय गरेको थियो । 


पत्र हस्तान्तरणपछि बोल्दै नेपाल पत्रकार महासंघ, म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले महासंघले विगत दुई वर्षको भाडा तिरेको तर, सो ठाउँमा भवन कार्यालय सञ्चालन गर्ने वातावरण नभएको हुँदा उक्त वातावरण बनाउन अनुरोध गरिएको जानकारी दिएका छन् । 


महासंघले बुझाएको पत्र छलफलका लागि नगर कार्यपालिकामा पेश गर्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । नगरपालिकाले पत्रकार महासंघलाई भाडामा लगाएको उक्त जग्गामा रहेको भवनमा राजनीतिक संरक्षणको आडमा मङ्गला गाउँपालिका–१ कुहुँकी समीक्षा विश्वकर्मा अटेर गरी बस्दै आएकी छिन् ।


भाडा नतिरी नगरपालिकाको भवन कब्जा गरेर बसेकी वश्वकर्माले नछोड्दा र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको अवरोधका कारण गण्डकी प्रदेश सरकारले महासंघको भवन निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको दशलाख रुपैयाँ बजेट कार्यान्वयनमा समस्या भएको छ । 


नेपाल खाद्य संस्थानको स्वामित्वमा रहेको जग्गा व्यापारीले खरिद गरी कित्ताकाट गरेर बेचेका थिए । सो क्रममा १४१९ नम्बर कित्ताको ४ आना जग्गा जिल्लाका राजनीतिक दल हुँदै बेनी नगरपालिकाको स्वामित्वमा आएको थियो । सोही जग्गामा भाडा तिर्नेगरी पत्रकार महासंघले भाडामा प्रयोग गर्ने गरी सम्झौता भएको हो । 


जिल्लाको प्रहरी, प्रशासन र सुरक्षा निकायका कार्यालयदेखि नजिकको जग्गामा एउटा व्यक्तिले अटेर गरी बसेको घटनाले पत्रकार महासंघलगायत सञ्चार क्षेत्रको संस्थागत विकासको पक्षमा रहेको भन्ने दलीय प्रतिबद्धतामाथि नै प्रश्नचिह्न उठ्ने अवस्था आएको छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes