जलवायु सङ्कट मानवजातिकै ‘चिहान’ बन्न सक्छ: महासचिव गुटेरेस
कालञ्जर
कात्तिक १५
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस |
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सङ्कटलाई गम्भीर रुपमा लिन आग्रह गरेका छन् । स्कट्ल्याण्डको ग्लास्गोमा सुरु भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप २६) को ‘लिडर्स समिट’ मा बोल्दै महासचिव गुटेरेसले विश्वका नेताहरुलाई यस्ता आग्रह गरेका हुन् ।
महासचिव गुटेरेसले जलवायु परिवर्तनलाई सहयोग गर्ने विश्वव्यापी तापमान वृद्धिको कारक हरितगृह ग्यासको उत्सर्जन कटौतीका तत्काल ठोस कदम चाल्न र आफ्नो वाचा पूरा गर्न अपिल गरेका छन् ।
विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु संकटलाई ‘मानव समुदायको चिहान’सँग तुलना गर्दै महासचिव गुटेरेसले भनेका छन्, ‘खनिज इन्धनप्रतिको हाम्रो लतले मानवीयतालाई संघारमा धकेलेको छ।’
उनले चेतावनीको भाषामा भनेका छन्, ‘कि हामीले यसको प्रयोग रोकौँ, होइन भने यसले हामीलाई रोक्ने छ । यो समय अब भयो, पुग्यो, अति भयो भन्ने बेला हो, कार्बनबाट हामीले आफैलाई मारिरहेका छौँ । खनिज इन्धनको प्रयोग, उत्खनन अति भयो । हामीले हाम्रो आफ्नो चिहान खनिरहेका छौँ ।’
महासचिव गुटेरेसले जलवायु परिवर्तनको नकारात्मक प्रभावको उच्च जोखिममा रहेको र अहिले नै संकटको सामना गरिरहेका देशहरुलाई सहयोग गर्नका लागि पर्याप्त कोषको व्यवस्था र त्यसमा सहज पहुँचको आवश्यकतामा जोड दिएका छन् । उनले ग्लास्गोबाट मानव सभ्यतामाथिको गम्भीर चुनौती जलवायु संकटसँग जुध्नका लागि अत्यावश्यक कार्यमा सहमति जुट्ने अपेक्षा रहेको बताए ।