वनलाई जनजीविकासँग जोड्नुपर्छः सांसद थापा
कालञ्जर
कार्तिक ५
बेनी । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यालयद्वारा गत आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालित वार्षिक कार्यक्रम तथा खर्चको विवरणसहितको समीक्षा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद भूपेन्द्रबहादुर थापाले वन क्षेत्रको संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै यसलाई जनजीविकासँग जोड्नुपर्ने विचार व्यक्त गरेका छन् । वन क्षेत्रको उत्पादन तथा त्यसको प्रयोगलाई जनताको जीवनस्तर उकास्नमा उपयोग गरिनुपर्ने विचार व्यक्त गर्दै सांसद थापाले यसैमा केन्द्रित भई नीति तथा कार्यक्रमहरु तर्जुमा गरिनुपर्ने आवश्यकता औंल्याए । उपभोक्ताहरुले वन क्षेत्रबाट फाइदा लिने तर न्युनतम दायित्व पूरा गर्नेतिर आवश्यक ध्यान नपुगेको भन्दै थापाले सरोकारवाला निकाय यसबारे सचेत हुनुपर्ने पनि बताए ।
सोही गोष्ठीलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले सामुदायिक वन क्षेत्रको स्थलगत रुपमा अनुगमन गर्न आवश्यक रहेको बताउँदै वन क्षेत्रसँग सम्बन्धित नयाँ कानुनहरु निर्माण गर्नुपर्ने धारणा राखेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले सामुदायिक वन क्षेत्रबाट जडिबुटीलगायत चोरी निकासी हुने गरेकाले यसलाई रोक्नुपर्ने माग गरे भने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले प्राकृतिक स्रोतसाधन, वन्यजन्तु जनावर तथा जडिबुटीको संरक्षण गर्नुपर्ने मुख्य दायित्व वन कार्यालयको भएको स्मरण गराएका थिए ।
गण्डकी प्रदेशको वन निर्देशक केदार पौडेलले सरकारी वनमा सम्बन्धित स्थानीय तहले उद्योग सञ्चालनका लागि सङ्घीय सरकारसमक्ष पहल गर्नुपर्ने बताए । कार्यक्रमको समापन गर्दै डिभिजन वन कार्यालय म्याग्दीका निमित्त डिभिजनल वन अधिकृत चन्द्रमणि सापकोटाले थोरै कर्मचारीले धेरै काम गर्नुपर्ने अवस्था रहेकाले कार्यालयलाई आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन तालुकवाला निकायसँग माग गरे ।
वार्षिक समीक्षा गोष्ठीमा डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नरवहादुर खत्रीले कार्यक्रमको प्रस्तुतिसहित चालु आर्थिक वर्षको बजेटको बारेमा जानकारी गराएका थिए ।
नेपालमा कुल ४४ दशमलव ७ प्रतिशत वन क्षेत्र रहेकोमा गण्डकी प्रदेशमा ३७ दशमलव ८ प्रतिशत र म्याग्दी जिल्लामा ४७ प्रतिशत क्षेत्र वनले ओगटेको गोष्ठीमा जानकारी गराइएको थियो।