राष्ट्रिय राजमार्ग र स्थानीय सडक सुधार्न माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र
कालञ्जर
कार्तिक ५
बेनी । म्याग्दीलाई छोएर अघि बढ्ने राजमार्ग र स्थानीय सडकहरुको स्तरोन्नतिको माग गर्दै म्याग्दी उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ । सडक निर्माण तथा स्नरोतन्नतिको जिम्मा लिएका निर्माण व्यवसायीले बेवास्ता गर्दा म्याग्दीकै बदनामी हुने अवस्था आएपछि केन्द्रीय सरकारलाई ध्यानाकर्षण पत्र पठाइएको हो ।
हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकलाई सहजै यात्रा गर्ने लायकको बनाउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाइएको छ । यसै साता परेको बेमौसमी झरीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दी क्षेत्रको यात्रा सकसमूपर्ण भएको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत् केन्द्र सरकारलाई ध्यानाकर्षण पत्र पठाइएको हो ।
शुक्रबार म्याग्दी उद्योग वाणिज्य संघको एक टोलीले सडक अवरुद्ध क्षेत्र गलेश्वरमा पुगेर म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानासहितको सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा सरकारको ध्यानाकर्षण गराउँदै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ । प्रजिअ रानालाई ध्यानाकर्षणपत्र बुझाउँदै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नतिको जिम्मा लिएको निर्माण व्यवसायीमार्फत सडक नियमित रुपमा प्रभावकारी सञ्चालनको माग गरिएको जानकारी दिए ।
सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका पालिका सरकारहरुले सडक निर्माण तथा स्तरोन्नतिमा आवश्यक चासो नदेखाएपछि संघले ध्यानाकर्षण पत्र पठाएको अध्यक्ष कटुवालले बताए ।
वर्षाले सडक अवरुद्ध हुदा आवतजावत तथा मालसामान ढुवानीमा असहज परिस्थिति उत्पन्न भएको बताउँदै आवश्यक सहयोगका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
“ठेकेदारको बदमासीले समयमै गतिलो सडक बन्दैन गालीचाहिँ हामीले खानुपर्छ,” ध्यानाकर्षणपत्र बुझाएपछि बोल्दै संघका अध्यक्ष कटुवालले भने, “ठूला ठेकेदारले जिम्मा लिएर काम नगर्ने तर जिल्ला र यहाँका व्यवसायीको बेइज्जत हुने अवस्था आउन नदिन पनि अब सडक, अस्पताललगायतका महत्वपूर्ण संरचना निर्माणको जिम्मा लिएका ठेकेदारहरुलाई झक्झक्याउन आवश्यक छ ।”
दसैंको विदा मनाउन पछिल्लो साता मुस्ताङ भ्रमणमा निस्किएका पर्यटकहरुलाई खराब सडकका कारण बेनी–जोमसोम सडक छिचोल्न सास्ती भएपछि उनीहरुले म्याग्दीको प्रहरी प्रशासन, यहाँका राजनीतिक दल र तिनका नेताहरु अनि उद्योगी व्यवसायीहरुको समेत आलोचना गरेका समाचार आएका थिए ।