एमाले म्याग्दीको पालिकास्तरीय अधिवेशनः चारओटामा सहमतिमै नेतृत्व छनोट

कालञ्जर

कार्तिक १०



बेनी । नेकपा एमाले म्याग्दीले चारओटा गाउँपालिकाहरुमा सर्वसम्मतरुपमा नयाँ नेतृत्व छनोट गरेको छ । मङ्गलबार शुरु भएको पालिकास्तरीय अधिवेशनले धवलागिरी, मङ्गला, मालिका र रहुगङ्गा गाउँपालिकामा सर्वसम्मतिमै अध्यक्षसहितको नयाँ कमिटी निर्वाचित गरेको हो । 


धवलागिरी गाउँपालिकाको मुनामा सम्पन्न प्रथम अधिवेशनले पुराना वामनेता होमबहादुर थापाको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा राजाराम सुवेदी, सचिवमा रेशम छन्त्याल र उपसचिवद्वयमा विजय घर्ती र तिलक पुन निर्वाचित भएका छन् । 




त्यसैगरी मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न पहिलो अधिवेशनले सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिवमा चिरञ्जीवी शर्मा तथा उपसचिवमा दर्पण रोका र चक्रपाल पाण्डे निर्वाचित भएका छन् ।  




उता, मालिका गाउँपालिकाको अध्यक्षमा बेग गर्बुजा निर्वाचित भएका छन् । ६१ सदस्यीय कमिटीको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी (सन्तोष), र उपसचिवमा भूपेन्द्र दर्जी र धनबहादुर बोहोरा चयन भएको मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिएकी छिन् ।  




त्यसैगरी रहुगङ्गा गाउँपालिकामा पनि दिपक कार्की (बिखर्ची) को अध्यक्षतामा ५८ सदस्यीय एमालेको पालिकास्तरीय कमिटी निर्वाचित भएको छ । कमिटीको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा र उपसचिवमा यामकुमारी गर्बुजा तथा दिपा पुन निर्वाचित भएको नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले जानकारी दिएका छन् । 



जिल्ला सदरमुकामसमेत रहेको बेनी नगरपालिकामा भने नेतृत्वका लागि तीन जना आकांक्षी देखिएपछि मंगलबार बन्दसत्र स्थगित गरिएको थियो । बुधबार बिहानदेखि पुनः बन्दसत्र सुरु भई छलफल भए पनि यो समाचार तयार पार्दासम्म नेतृत्वको टुङ्गो लागेको छैन । 




नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार नगर कमिटीको नेतृत्वका लागि चन्द्रकुमार केसी, नारायण जिसी र राजकुमार थापाले दावी प्रस्तुत गरेका छन् । सहमतिमै नेतृत्वसहितको कमिटी छनोट गर्नका लागि बन्दसत्र स्थगित गरी थप छलफल भैरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । 


जिल्लाको उत्तरी भेगमा अवस्थित अन्नपूर्ण गाउँपालिकामा भने नयाँ नेतृत्व छनोटको काम केही दिनभित्रै सम्पन्न हुने बताइएको छ । गाउँ कमिटीका अध्यक्ष उपचारका लागि अहिले जिल्लाबाहिर रहेकोले आवश्यक तयारीपछि बाँकी वडा र पालिकास्तरीय अधिवेशन सम्पन्न गर्ने एमाले म्याग्दीले जनाएको छ । । 


६ ओटा स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा एमालेले अहिलेसम्म ४२ वडा र चार गाउँपालिकामा सर्वसम्मतिमै नयाँ नेतृत्वसहितको कमिटी गठन गरेको हो ।


गत असोजमा ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशन र त्यसले संशोधन गरेको विधानमा आधारित भई एमालेले वडा र पालिकास्तरको अधिवेशन सम्पन्न गरिरहेको छ । 


नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा चितवनमा हुँदैछ  ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes