मंसिरदेखि लागू हुने गरी बिजुलीको महशुल घट्यो
कालञ्जर
कार्तिक ११
विद्युत् नियमन आयोगले उपभोक्ताले तिर्नुपर्ने बिजुलीको महशुल दर घटाएको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले शूल्क घटाउने निर्णय गरेको हो ।
नयाँ महशुल दर आगामी मंसिरदेखि लागू हुनेछ । आयोगले १४५०औँ बैठकमार्फत् २०७८ मंसिरदेखिको विद्युत् खपत र २०७८ पौस महिनादेखिको बिलिङमा लागू हुने गरी विद्युत उपभोक्ता महशुल दर निर्धारण गरेको हो ।
उपभोक्ताको हकमा औसतमा १.०४ प्रतिशतले महशुल घट्ने गरी आयोगले दर निर्धारण गरेको छ । विद्युत उपभोग बढाउन महशुलमा औसतमा २.८४४ प्रतिशतले घटाएको हो ।
सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००,१२५ र १५० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पिएर १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुल दरमा २५ ले कटौती गरी क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ ।
विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्रै लाग्ने निर्णय गरेको छ ।
सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रति युनिट ५० पैसा घटाई प्रतियुनिट ९.५० कायम गरिएको छ ।
सिङ्गल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाई प्रति युनिट ११ रुपैयाँ कायम गरिएको छ ।
मासिक १५१ युनिटभन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने हेतुले साबिकको भन्दा कम महसुल हुने गरी महसुल दर निर्धारण गरिएको बताइएको छ ।