एमालेको १०औं महाधिवेशनमा १५ सय प्रतिनिधि सहभागी हुने
कालञ्जर
कार्तिक ११
बेनी । कात्तिक, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको आसन्न १० औं महाधिवेशनमा देशभरका १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या टुङ्गो लगाएको हो ।
स्थायी समितिको बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन् । प्रवक्ता ज्ञवालीका अनुसार अहिले एमालेको पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १ हजार ५ सय ३६ प्रतिनिधि महाधिवेशनमा सहभागी हुन लागेका हुन् ।
सहभागी हुनेमध्ये भूगोलबाट १,१९६ जना, केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका निश्चित सदस्य पदेन प्रतिनिधि हुनेछन् ।
स्थायी कमिटीको निर्णयअनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १,५०० पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।
हरेक जिल्लाबाट एक एक जना दलित प्रतिनिधि, हरेक प्रदेशबाट मजदुर प्रतिनिधिहरु चयन हुनेछन् । हरेक जनसंगठनबाट ५÷५ जना महाधिवेशन प्रतिनिधि आउने छन् भने केन्द्रीय कार्यालय र विभागहरुबाट दुई खुला र एक महिला गरी ३ जना तथा प्रवासबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।
प्रवक्ता ज्ञवालीका अनुसार पदेन महाधिवेशन प्रतिनिधि २६२ हुनेछन् भने ५ प्रतिशत मनोनयन गरिनेछ ।