शेखर कोइराला भन्छन्ः ‘प्रधानमन्त्री देउवाले लोकतन्त्रको हत्या गरे’
असोज २३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधान न्यायाधीशको कोटाबाट गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको हत्या गरेको आरोप लगाएका छन् । विराटनगरस्थित आफ्नै निवासमा पत्रकारसँग बोल्दै नेता कोइरालाले प्रधानमन्त्रीले गरेको हमालको नियुक्तिप्रति आक्रोश व्यक्त गरेका हुन् ।
‘अरू साथीहरूले के भन्नुहुन्छ, म त लोकतन्त्रको हत्या नै गरेको हो भन्छु।’ डा कोइरालाको भने, ,‘मेरो विचारमा प्रधानमन्त्रीका रूपमा देउवाले दोस्रोपटक लोकतन्त्रमाथि प्रहार गर्नुभएको छ ।’
‘शेरबहादुरजी राजाका पालामा प्रधानमन्त्री हुँदा उहाँले पहिलो पटक लोकतन्त्रमाथि प्रहार गर्नुभयो’, कोइरालाले भने, ‘अहिले दोस्रोपटक प्रहार भएको छ । हमालजी जसरी मन्त्री पदमा नियुक्त हुनुभएको छ, यसबाट लोकतन्त्रलाई खतरा छ । व्यक्तिगत रूपमा मेरो उहाँसित कुनै नराम्रो छैन, उहाँ नेपाली कांग्रेसकै क्रियाशील सदस्य भएको मैले बुझेको छु । तर, उहाँको नियुक्तिको प्रक्रिया र सिफारिसप्रति मेरो आपत्ति छ।’
उनले हमालको नियुक्तिबाट लोकतन्त्रको मर्म र शक्ति पृथकीकरणको सिद्धान्त छियाछिया भएको टिप्पणी गरे । लोकतन्त्रको सुन्दर पक्ष भनेको शक्ति पृथकीकरण र सन्तुलन भएको उल्लेख गर्दै नेता कोइरालाले प्रधानमन्त्री देउवाका पछिल्ला क्रियाकलापले यसको धज्जी उडाएको बताए ।
‘लोकतन्त्रका लागि त शेरबहादुरजी पनि धेरै लड्नु भएको हो’, उनले भने, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको सम्बन्ध र सन्तुलनका बारेमा पनि उहाँ जानकार हुनुहुन्छ। तर, उहाँले यी दुई दिनमा गरेका निर्णयले लोकतन्त्रको मर्म र सन्तुलनमाथि प्रहार भएको छ । अहिले कस्तो छ भने गभर्नमेन्ट देखिएको छ, तर गभर्नेन्स हराएको छ ।’
कोइरालाले केन्द्रमा प्रधानमन्त्री देउवाले आफ्ना मन्त्रीको संख्या थप्न प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा मुख्यमन्त्री नेकपा एसलाई दिएको घटनाप्रति असन्तुष्टि जाहेर गरे ।
कोइरालाले मन्त्री पदमा हमालको नियुक्ति र दुई वटा प्रदेश सरकारका बारेमा गरिएको निर्णयलाई आगामी महाधिवेशनमा मुद्दा बनाउने संकेत पनि गरेका छन् ।
आफु प्रधानमन्त्री नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले हिजोमात्र मन्त्रिपरिषद विस्तार गरेका थिए ।
सर्वोच्च अदालतले देउवाको नामै किटान गरेर २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न गत असार २८ गते परमादेश जारी गरेको थियो ।
सर्वोच्चको परमादेश पछाडि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको हात रहेको र अहिले प्रधानन्यायाधीशकै जेठान नाता पर्ने गजेनद्र हमाललाई मन्त्री बनाइएको भन्दै गठबन्धनमा सामेल दलहरु, प्रधानमन्त्री देउवा र सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको आलोचना भैरहेको छ ।