चाडपर्वको जमघटमा कोरोना संक्रमण यसरी रोक्न सकिन्छ

बेनी

असोज २३

डा. शेरबहादुर पुन


कोरोनाविरुद्धको खोप अहिलेसम्म देशभर ३२ प्रतिशतले खोप लगाइसकेका छन । त्यसैले हामी केही हदसम्म सुरक्षित छौँ भनेर पनि हेर्न सकिन्छ । उपत्यकामा ७० प्रतिशतभन्दा बढीले खोप लगाइसकेका छन् । खोप जति धेरैले लगाए, उति भाइरस फैलिने सम्भावना कम हुन्छ ।


खोप लगाएपछि संक्रमित भए पनि अस्पताल नै जानुपर्ने सम्भावना कम हुन्छ । अस्पतालको बेड कम ओगटिन्छ । अस्पतालमा जति बढी भर्ना भयो, त्यति थेग्न नसक्ने चाप बढ्दै जान्छ । डाक्टर, नर्सको अभाव हुने हुन्छ । बेड, स्वास्थ्यकर्मी अभाव हुनेबित्तिकै बिरामीले गुणस्तरीय सेवा पाउँदैनन् र मृत्युको सम्भावना बढ्छ ।


तर, खोप लगाउनु भनेको संक्रमणको सम्भावनाबाट मुक्त हुनु होइन । खोप भनेको संक्रमित भइसकेपछि आउने जटिल अवस्था वा मृत्युको सम्भावनालाई कम गर्ने मात्र हो । त्यसो हुँदा अस्पताल भरिभराउ हुँदैन । र, जो जो अस्पताल आउनैपर्ने हुन्छ, तिनले राम्रो उपचार पाउँछन् अनि मृत्युदर कम हुन्छ भन्ने हो । 


दोस्रो लहरमा अस्पतालमा बेड नपाउने, अक्सिजन अभाव हुने अवस्था हामीले भोग्यौँ । खोप आइसकेकाले अब त्यस्तो अवस्था हुँदैन होला । तर, जतिसक्दो चाँडो खोप लगाउनुपर्छ ।


जति धेरै जनसंख्यालाई खोप लगायो, त्यति बढी सुरक्षित भइन्छ। ‘हर्ड इम्युनिटी’ का लागि ७०–८० प्रतिशतलाई खोप लगाउनुपर्छ भन्ने पनि छ । त्यति जनसंख्यालाई खोप लगायौँ भने भाइरस फैलिए पनि नियन्त्रणमा ल्याउन सजिलो हुन्छ । 


चाडपर्वमा चहलपहल हुन्छ । ठूलो जनसंख्या सहरबाट गाउँसम्म र गाउँबाट फेरि सहरसम्म यात्रा गर्छ । काठमाडौँबाट संक्रमितहरुले भाइरस बोकेर गाउँघरमा फैलाउँछन् कि, अथवा हामी भाइरस फैलाउने माध्यम बनेर गाउँ त पसिरहेका छैनौँ भन्ने प्रश्न पनि छ । यसमा एउटा कुरामा एकदमै विचार पुर्याउनुपर्छ। खोप लगाए पनि जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न भुल्नु भएन । 


डेल्टा भेरियन्टबाट संक्रमितहरुमा खोप लगाएका र नलगाएकामा भाइरल लोड उस्ताउस्तै पाइएको छ । खोप लगाएपछि अब के हुन्छ र ! म जहाँ नि जान्छु, जे नि गर्छु भन्ने सोच आउला । त्यो स्वार्थीपन हुन्छ । खोप लगाउने मान्छे त सुरक्षित होला तर अरु सुरक्षित हुँदैनन् । कतै खोप लगाइरहेकाहरुले नै कोरोना त फैलाइरहेका छैनन् भन्ने प्रश्न पनि छ ।


यहीबेला चाडपर्वमा भारतलगायत अन्य देशबाट पनि थुप्रै नेपालीहरु नेपाल भित्रिन्छन् । नाकामा गरिने जाँचलाई निरन्तरता दिनुपर्छ तर व्य वहारिक रुपमा त्यो अलि कठिन हुन्छ । खुला सिमाना छ । त्यसैले विदेशबाट आउनेहरुबाट सुरक्षित रहन स्थानीय सरकारको भूमिका महत्वपूर्ण देख्छु । स्थानीय निकायलाई त गाउँमा को नयाँ आएको छ, थाहा हुन्छ नि । त्यस्ता व्यक्तिको परीक्षण गर्न सके वा क्वारेन्टिनमा राख्न सके धेरै सुरक्षित हुन सकिन्छ । त्यो फैलिन पाउँदैन । 


अघिल्लो पटकको भन्दा यो पटकको दसैँ खोप लगाएका कारण अलि सुरक्षित मान्न सकिन्छ । हामीले कहाँ बढी खोप लगाएका छौँ भन्ने कुराले पनि निर्धारण गर्छ । खोप लगाएका मानिसहरुको संख्या अत्यन्त कम भएको ठाउँमा कोरोना फैलिन सक्छ ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes