एमाले म्याग्दीको वडा अधिवेशनको सबै तयारी पुरा
कालञ्जर
कार्तिक ५
बेनी । नेकपा एमाले म्याग्दीको भोलि हुने वडा अधिवेशनको सबै तयारी पुरा भएको छ । सदरमुकाम बेनीमा आज पत्रकार सम्मेलन गरी उक्त जानकारी गराइएको हो । नेकपा एमालेको आगामी मंसिरमा हुन गैरहेको १० औं महाधिवेशनको सबैभन्दा तल्लो एकाइका रुपमा भोलि देशैभर वडा अधिवेशन सम्पन्न हुन लागेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्लाका ४५ वटा वडामध्ये केही वडाबाहेक सबैमा कार्तिक ६ गते अर्थात् भोलि नै अधिवेशन सम्पन्न गर्नेगरी तयारी भैसकेको जानकारी दिएका छन् । धवलागिरी गाउँपालिका–१ गूर्जा लगायतका केही वडामा भने कार्तिक ८ गतेभित्र अधिवेशन सम्पन्न गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । यसैगरी कार्तिक ९ गते पालिकास्तरीय अधिवेशन सम्पन्न गरिने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए।
नेकपा एमाले म्याग्दीमा अहिले अहिले ३ हजार १ सयबढी सङ्गठित सदस्य रहेको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले अधिवेशनमा सहभागी प्रतिनिधिहरुबाटै वडा कमिटी छनोट हुनेसमेत बताए । एमालेको संशोधिन विधानअनुसार वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, २ जना उपसचिव र बढीमा ३१ सदस्यहरु रहन सक्नेछन् भने पालिकास्तरीय कमिटीमा चाहिँ अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव गरी बढीमा ७५ सदस्य रहन सक्ने र त्यसमध्ये महिला प्रतिनिधित्व अनिवार्यरुपमा ३३ प्रतिशत हुनुपर्ने ब्यबस्था एमालेको विधानमा छ ।
नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा अधिवेशन सफल पार्नका लागि जिल्ला कमिटी तथा प्रदेश कमिटीका नेताहरुले आवश्यकताअनुसार समन्वय तथा सहजीकरण गरिरहेको पनि जानकारी गराइएको थियो ।