झरीले बाटो अवरुद्ध हुँदा मुस्ताङ घुम्न आएका पर्यटक घण्टौं अलपत्र
कालञ्जर
कात्तिक ३
बेनी । लगातारको झरीका कारण बाटो अवरुद्ध हुँदा मुस्ताङ घुम्न हिँडेका र त्यहाँबाट फर्किएका पर्यटकहरु बाटोमै अलपत्र परेका छन् । बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा हजारौं संख्याका पर्यटकहरु समस्यामा परेका हुन् ।
यस वर्षको मनसुन सकिएपछि परेको बेमौसमी झरीले बेनी नगरपालिका–८ जलेश्वर, रहुगङ्गा गाउँपालिका–३, गलेश्वर र अन्नपुर्ण–३, दानाको काभ्रेमा सडक अवरुद्ध भएको छ ।
अवरुद्ध सडक खुलाउँदै सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गर्ने कोशिस भैरहेको त छ तर त्यो पर्याप्त छैन । दानाको काभ्रेमा सडक भासिएर साँघुरो भएपछि बस, ट्रकजस्ता ठुला सवारी साधन फसेर जाम हुँदा समस्या भएको म्याग्दी कोरला यातायातका सञ्चालक मोहन केसीले जानकारी दिएका छन् ।
अवरुद्ध सडक खुलाउन प्रहरी, बेनी–जोमसोम सडक आयोजनाको ठेकेदारले मजदुर र स्काभेटरको सहयोगले काम गरिरहे पनि निरन्तरको झरीले लेदो बग्दा सडक सहज बनेको छैन ।
दसैं विदाको छेक पारेर मुस्ताङ भ्रमणमा निस्किएका आन्तरिक तथा बाह्य पर्यटकहरु सास्तीमा परेपछि प्रहरी प्रशासनले पनि यसबारे चासो देखाएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले सोमबार सडकको अवस्था बुझ्न दानाको काभ्रेसम्म पुगेर सरोकारवालालाई आवश्यक निर्देशन दिएका थिए । तर, बेमौसमी झरीका कारण मंगलबार अबेरसम्म पनि सडक अवरुद्ध बनेको छ ।
मंगलबार बिहान जोमसोमबाट हिँडेका विरगञ्जका रोहित शर्मा अपराह्न रहुगंगा –३, गलेश्वरमा भेटिए । शर्माका अनुसार सडक अवरुद्ध हुँदा यात्रीहरुलाई खान, बस्नको समस्या भएको छ ।
यता, सिरहाको लालबन्दीबाट मुस्ताङ घुम्न हिँडेको अर्जुनकुमारको १४ जनाको टोली पनि गलेश्वरमै अड्किएको छ । “हामी यहाँ रोकिएको ४ घण्टा भयो, अघि बढ्न सकिएको छैन । आज कहाँ पुगेर बास बस्ने भन्ने ठेगान छैन,” बाइकर्स शर्माले भने ।
दसैं विदा मनाउन आएका पर्यटकका कारण सदरमुकाम बेनी, भुरुङ तातोपानी लागतयका होटलहरु भरिभराउ भएका थिए तर, झरीका कारण होटल खाली हुने क्रम बढेको होटल व्यवसायीहरुको भनाइ छ ।
वर्षात्का कारण चार महिनादेखि अवरुद्ध सडक बेमौसमी झरीका कारण पुनः अवरुद्ध भएपछि मुस्ताङी स्याउको निकासी र खाद्यान्नको ढुवानीमा थप समस्या भएको प्रहरीको भनाइ छ ।