म्याग्दीका २५ वडामा एमालेको वडा कमिटी गठन
कालञ्जर
कार्तिक ६
बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा अधिवेशन आजदेखि शुरु भएको छ । शनिबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधनसहित देशव्यापीरुपमा एकैसाथ वडा अधिवेशनको उद्घाटन गरेका हुन् । आगामी मंसिरमा हुन लागेको एमालेको १०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत वडा र पालिकास्तरीय अधिवेशन हुन लागेको हो ।
यसैबीच म्याग्दीको २५ वडामा नेकपा एमालेको नयाँ कमिटी गठन भएको छन् । शनिबार आयोजित भेलाले सम्बन्धित वडाको नेतृत्वसहितको नयाँ कमिटी गठन गरेको नेकपा (एमाले) म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार अन्नपुर्ण गाउँपालिकाका ८ वडामध्ये ६ नम्बर वडामा मात्र नयाँ कमिटी गठन भएको छ । उक्त वडामा भक्तबहादुर खड३काको नेतृत्वमा नयाँ कमिटी गठन भएको हो ।
त्यसैगरी धवलागिरी गाउँपालिकाको मुनामा विष्णु भण्डारी, मुदीमा गणेश घर्ती र ताकममा कलानिधि शर्माको अध्यक्षतामा कमिटी गठन भएको छ ।
यता जिल्ला सदरमुकामसमेत रहेको बेनी नगरपालिकामा भने १० ओटै वडामा नयाँ कमिटी गठन भएको छ । नगरपालिकाको १० ओटा वडाको अध्यक्षमा क्रमशः टेकबहादुर थापा, दिलबहादुर घिमिरे, गेम घर्ती मगर, गोविन्द पौडेल, दिनेश कार्की, गणेश बानियाँ, रमेश फगामी, ठाकुरप्रसाद शर्मा, बाबुराम चोखाल र कृष्णबहादुर मल्ल निर्वाचित भएका छन् ।
त्यसैगरी मङ्गला गाउँपालिकाको १, २ र ५ मा क्रमशः एकजित रोका, जीवन कार्की, कृष्ण छन्त्यालको नेतृत्वमा नयाँ वडा कमिटी गठन भएका छन् भने मालिका गाउँपालिकाको १, ३, ४, ६ र ७ वडामा क्रमशः यामबहादुर पुन, बलबहादुर बुढा, गोविन्द कँडेल, तारामान रोका र टुकलाल चोचाङ्गे अध्यक्षमा निर्वाचित भएका छन् ।
रहुगङ्गा गाउँपालिकाका ८ वडामध्ये शनिबार भगवती, पिप्ले र पाखापानीमा नयाँ नेतृत्वसहितको कमिटी गठन भएको छ । रहुगङ्गाका ती वडाहरुमा क्रमशः ध्रुव सुवेदी, सुमन पौडेल र ट प्रसाद शेरपुञ्जाको नेतृत्वमा नयाँ कमिटी गठन भएको हो ।
असोज तेस्रो साता ललितपुरको गोदावरीमा सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनले पार्टीको विधान संशोधन गरी वडा अधिवेशनको मिति तय गरेको थियो ।
नेकपा एमाले म्याग्दीका अनुसार आज गठन भएका वडा कमिटीहरु सर्वसम्मतरुपमा छनोट भएका हुन् । बाँकी वडामा सोमबारसम्म नयाँ नेतृत्वसहितको कमिटी गठन भैसक्ने एमाले म्याग्दीले जनाएको छ ।