बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार

बेनी

असोज २४


बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीमाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ । आफ्नो कार्यकक्षमा सेवागाही र केही जनप्रतिनिधिसँग कुरा गरिरहेका बेला कार्यकक्षमा प्रवेश गरेको ५ जनाको समूहले अधिकृत सुवेदीलाई लक्षित गरी कालो तरल पदार्थ (मोबिल) बाट आक्रमण भएको हो ।


दुर्व्यवहारमा संलग्नमध्येका एकजना मुगुका १८ वर्षीय विजय विकलाई प्रत्यक्षदर्शी जनप्रतिनिधिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । प्रहरीका अनुसार घटनास्थलमा नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद भेटिएको छ । एक थान मोबाइल सेट, घडी लगायतका कागजात र सामग्री बरामद भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।


‘घटनास्थलबाट पक्राउ परेका एक जना हाम्रो नियन्त्रणमा छन्,’ उनले भने, ‘थप अनुसन्धान र संलग्नहरुको खोजीमा प्रहरी परिचालन गरिएको छ ।’ दुर्व्यवहार हुँदा वडा न. ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र ९ का अध्यक्ष बेलबहादुर चोखाल कार्यकक्षमै थिए । प्रत्यक्षदर्शी श्रेष्ठले शंकास्पद र छापामार शैलीमा कार्यकक्षमा छिरेका उनीहरुले ‘दलाल’ भन्दै अधिकृत सुवेदीमाथि मोबिलले छ्यापेको बताइएको छ ।


यसैबीच दुर्व्यवहारमा परेका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले आफूलाई मागिएको तर, आफुले चन्दा नदिएका कारण आक्रमण र दुर्व्यहार भएको प्रतिक्रिया दिए । ‘उनीहरुले चन्दा मागेका थिए, मैले जनताले तिरेको कर र बिकास बजेट काटेर कुनै दललाई चन्दा दिन नमिल्ने भने,’ सुवेदीले भने ‘कार्यकक्षमा प्रवेश गरेर अरु केही कुरै नगरी सिधै आक्रमण गरे ।’ 


उता, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सुशीला विकले सो घटनामा आफनो कार्यकर्ता र संगठनको संलग्नता नभएको बताएकी छिन् । पक्राउ परेका व्यक्ति आर्थिक अपचलनको आरोपी रहेको बताउँदै सेक्रेटरी विकले उनी पार्टीका कार्यकर्ता नभएको जिकिर गरेकी छिन् ।


Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes