गण्डकीलाई घोषणा गरियो ‘साक्षर प्रदेश’
बेनी
असोज २४
गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । आइतवार पोखराको सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन् । सातवटा प्रदेशमध्ये गण्डकी साक्षर घोषणा हुने दोस्रो प्रदेश बनेको हो । यसअघि वाग्मती साक्षर प्रदेश घोषणा भइसकेको छ ।
सभागृह हलको कार्यक्रम अगावै प्रधानमन्त्री देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका थिए । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्रारा निर्मित स्तम्भ बिहान अनावरण गरिएको हो ।
शिक्षा तथा मानव विकास केन्द्रको तथ्याङ्क अनुसार प्रदेशमा साक्षरताको दर ९६.५७ रहेको छ । प्रदेशमा नवलपुर सबैभन्दा बढी ९८ प्रतिशत साक्षर भएको जिल्ला हो । यस्तै तथ्यांक अनुसार सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै साक्षर नागरिक छन् ।
३० भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार प्रदेशको औसत कूल साक्षरता दर ७४.८ प्रतिशत थियो। जसमा पुरुष ८३.५ प्रतिशत र महिला साक्षरता ६७.७ प्रतिशत साक्षर थिए । साक्षर घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ ।
१२ वटा मापदण्ड पूरा गरेका स्थानीय निकायका ९५ प्रतिशत जनसंख्याले साक्षरता कोर्स पूरा गरिसकेपछि पालिका साक्षर घोषण हुन्छ । अन्त्यमा जिल्ला साक्षर घोषण हुन्छ । सो बमोजिम प्रदेशका ११ वटै जिल्ला यसअघि नै साक्षर जिल्ला घोषणा भइसकेका थिए । प्रदेश सरकारले पनि अघिल्लो नीति तथा कार्यक्रममा दुई वर्षभित्र साक्षर प्रदेश घोषणा गर्ने बताएको थियो ।