घान्द्रुक दुर्घटनाका सात मृतक ‘घुम्न आएका विद्यार्थी’
बेनी
असोज २५
कास्कीमा आज भएको जीप दुर्घटनामा मृत्यु भएका सात जना विद्यार्थी भएको खुलेको छ । काठमाडौंबाट घुम्नका लागि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जान लागेको जीप आज कास्कीको अन्नपूर्ण गाउँपालिका–१० मा पर्ने कलडाँडा भीरमा दुर्घटना भएको थियो । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार विदा मनाउन भन्दै उनीहरु कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जाँदै थिए ।
प्रहरीका अनुसार सोमबार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी हुन । अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
कास्कीको नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् । यस्तै काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशीष आले, सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते २० वर्षीया देविका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ‘गोंगबुबाट मिलेर घुम्न निस्केको र दिउँसो नयाँ पुलबाट घान्द्रुक जाँदै गर्दा जीप दुर्घटना हुँदा चालकसहित ८ को मृत्यु भएको खुलेको छ,’ विकले भने , ‘उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लागिएको छ ।’