मध्यरातमा पहिरो खसेपछि कालीपुलबासी तनावमा
बेनी
भदौ १४
आज राति गएको पहिरोका कारण म्याग्दी सदरमुकाम बेनीको कालीपुलका नागरिक रातभर तनावमा रहेका छन् । जलजला गाउँपालिका–३, पर्वत बेनी र बगरफाँट जोड ्ने सडकमाथिको ढिस्को खस्दा कालीपुलबासी तनावमा परेका हुन्।
कालीगण्डकीमाथिको ढिस्को खसेर नदीको छाल बढ्दा कालीपुलका ८ ओटा घरमा क्षति पुगेको र ३ जना घाइते भएको कालीपुल टोल सुधार समितिका सयोजक ताराबहादुर पुनले जानकारी दिए । पुनका अनुसार नदीको छालले घरमा क्षति पु¥याउँदा स्थानीय सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी स्थानीयले बेनी अस्पताल पु¥याएका थिए ।
“आज ठुलो दुर्घटनाबाट बाँचियो,” राम्चे घर भई हिजो राति कालीपुल बास बस्न आइपुगेका चित्र तिलिजा पुनले भने, “मध्यरातमा पहिरो खसेको जस्तो आवाज आएको थियो त्यसमा कसैको ध्यान गएजस्तो लागेन । तर, साढे २ बजेको आसपासमा ठुलो आवाजसहितको हावा र पानीको छाल आएपछि अब सिद्धियो भन्ने लाग्यो ।“
तिलिजाका अनुसार पहिरो गएपछि कालीपुलमा बस्दै आएका बालबालिका र वृद्धवृद्धाको उद्धारमा ध्यान दिइएको, अँध्यारो रातमा पानी परिरहेकोले ज्यान जोगाउनकै लागि कालीपुलबासीहरुले अरुको घरको पेटीमा बसेर बाँकी रात कटाएका थिए ।
कालीपुलमा पहिरोले क्षति पुगेको जानकारीसँगै बेनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईली, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलगायतका सरोकारवालाहरु घटनास्थलमा पुगे पनि अब के गर्ने भन्नेबारे निर्णय भैसकेको छैन ।
सुरक्षाकर्मी र स्थानीय बासिन्दाले भने जोखिमको आँकलन गरी सुरक्षित ठाउँमा सामान सार्न सघाइरहेका छन् ।


