नयाँ अध्ययन भन्छः ‘डेल्टा भेरियन्टले गम्भीर विरामी बनाउन सक्छ’
बेनी
भदौ १३
कोरोना भाइरसको नयाँ प्रजाति (डेल्टा भेरियन्ट) अरु भन्दा कडा र घातक रहेको एक नयाँ अध्ययनले देखाएको छ । बेलायतमा उपलब्ध तथ्यांकलाई लिएर गरिएको अध्ययनले अल्फा भन्दा डेल्टा भेरियन्ट घातक रहेको देखिएको हो ।
डेल्टा भेरियन्टबाट संक्रमित भएकाहरु अस्पतालमा भर्ना गर्नु पर्ने गरी बिरामी पर्ने सम्भावना दोब्बर देखिएको हो । द लान्सेट जर्नलमा प्रकाशित सो अध्ययनमा डेल्टा भेरियन्ट बढी संक्रामकसँगै गम्भीर बिरामी बनाउने देखिएको हो ।
विज्ञहरुले यसलाई ठूलो अध्ययन भनेका छन् र यसले पूर्णरुपमा खोप किन लगाउनु पर्छ भन्ने कुरा थप स्पष्ट पारेको उनीहरुको भनाइ छ । खोप लगाएका व्यक्तिहरुलाई कुनै पनि भेरियन्टको संक्रमण भए पनि गम्भीर बिरामी पर्ने सम्भावना अति न्यून हुन्छ ।
अहिले विश्वका अधिकांश क्षेत्रमा डेल्टा भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। पब्लिक हेल्थ इङल्याण्ड (पिएचई) र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा भएको अध्ययनमा ४३ हजार ३३८ कोरोना संक्रमतिको जानकारी हेरिएको हो।
मार्च र मे महिनाको सो तथ्यांक हेरिएको हो, त्यसबेला केन्टका रुपमा पनि परिचित अल्फा र डेल्टा भेरियन्टको संक्रमण बेलायतमा सक्रिय थियो । अध्ययनमा सहभागी भएका मध्ये अधिकांश ती व्यक्ति थिए जसले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिएनन् ।
अधिकांशलाई अस्पताल भर्ना गर्नु परेको थिएन । तर डेल्टा भेरियन्टबाट संक्रमित भएका मध्ये २.३ प्रतिशत र अल्फाबाट संक्रमित भएका मध्ये २.२ प्रतिशतलाई अस्पताल भर्ना गर्नु परेको थियो ।
उमेर समूह, लिङ्ग तथा वर्ग अनुसार मिहिन रुपमा अध्ययन गर्दा अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउन सक्ने जोखिम डेल्टा भेरियन्टबाट संक्रमित भएकाहरुमा अल्फाबाट संक्रमितमा भन्दा दोब्बर देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
विज्ञहरुले खोप लगाएमा जोखिम निकै कम हुने बताएका छन् । उच्च तहको सुरक्षाका लागि खोपको पूर्ण मात्रा लगाउनु पर्ने उनीहरुको भनाइ छ ।
पिएचईले हालै गरेको विश्लेषण अनुसार फाइजर खोपको पूर्ण मात्रा लगाएका मध्ये ९६ प्रतिशतलाई संक्रमण भए पनि अस्पताल भर्ना गर्नु पर्ने अवस्था नआउने देखिएको थियो। यस्तै एस्ट्राजेनेकाले गम्भीर बिरामी हुनबाट रोक्ने क्षमता ९२ प्रतिशत देखिएको छ ।
