आज श्रीकृष्ण जन्माष्टमीः देशभर सार्वजनिक बिदा
बेनी
भदौ १४
आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । आजको दिन वैदिक सनातन धर्मावलम्बीले उपवास बसी श्रीकृष्णको आराधना गर्ने चलन छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र महिनाको कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।
घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन पनि नेपाली समुदायमा बढ्न थालेको छ । यस अवसरमा विभिन्न विद्यालयले बालबालिकालाई श्रीकृष्णका रूपमा सिँगारेर यो पर्व मनाउने गरेकामा शैक्षिक संस्था बन्द रहेकाले यसपटक त्यस्तो कार्यक्रम छैन ।
यसैबीच सरकारले आज सार्वजनिक विदा घोषणा गरेको छ । विगत वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको हो ।
