जनवादी गायक जेबी टुहुरेको निधन
बेनी
भदौ १०
जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज टुहुरेको निधन भएको हो ।
केही दिनअघि मतिष्काघात भएका टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नै निवासमा लडेपछि उनलाई अस्पताल पुर्याइएको थियो । तर, भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको अवस्थामा सुधार आउन सकेन ।
७८ वर्षीय टुहरेको वास्तविक नाम जुठबहादुर खडगी हो । २० वर्षको उमेरदेखि सांगीतिक क्षेत्रमा सकृय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ।।’ बोलको गीत सर्वाधिक लोकप्रिय मानिन्छ ।
टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।
