एमालेको दशौं महाधिवेशन मसिर १० देखि १३ गतेसम्म
बेनी
भदौ ८
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १३ गतेसम्म आयोजना हुने भएको छ । माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।
त्यस्तै भदौ २७ र २८ गतेका लागि तोकिएका विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज ५ र ६ गते हुने भएको छ । बैठकले स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारेको छ ।
बैठकले सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन निर्देशन दिएको छ ।
१० बुँदे कार्यान्वयनमा सघाउन उच्चस्तरीय कार्यदल
यसैबीच १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न आजको स्थायी कमिटी बैठकले कार्यदलसमेत गठन गरेको छ । आजकै बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिससमेत गर्न सो कार्यदल बनाएको हो ।
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथाा लेखराज भट्ट रहेका छन ।
बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको ज्ञवालीले बताए ।
एकताको सन्देश दिन सामूहिक तस्वीर
एमालेको पार्टी जीवनका लागि महत्वपुर्ण निर्णय गर्दै सकिएको आजको बैठकमा माधव नेपालसँग अलग्गिएको मध्यमार्गी समूहसहित माओवादी पार्टी छाडेका नेताहरुसमेत सहभागी भएका थिए ।
बैठकपछि एकताको सन्देश दिन सामूहिक फोटोसेसन गरिएको थियो । फोटोसेसन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमशः उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल थिए । उनीहरू दुवै माधव नेपालबाट अलग भएर मूलधारमा आएका हुन् ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको प्राङ्गणमा रहेको तुलसीलाल अमात्यको शालिकअगाडि फोटोसेसन भएको थियो जहाँ सबै नेताहरु प्रसन्न मुद्रामा देखिन्छन ।।
गत पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोध गर्दै आएको माधव नेपाल समूहको ठूलो हिस्सा ९ महिनापछि स्थायी कमिटी बैठकमा सहभागी भएको हो ।
आन्तरिक मनमुटाव र विभाजनको पीडा बेहोरोको नेकपा एमालेका लागि आजको निर्णयले सकारात्मक ऊर्जा उत्पन्न गर्ने अगुवा नेता कार्यकर्ताहरुको भनाइ छ ।


