कोभिड–१९ र शिक्षा
![]() |
सुकृति पौडेल कक्षा – १० प्रकाश माध्यमिक विद्यालय, बेनी |
भदौ १०
तीब्र गतिमा फैलिँदै र मानिस बीच संक्रमित हुँदै आइरहेको भाइरसलाई कोरोना भाइरस भनिन्छ । कोरोना भाइरस एउटा खतरनाक संक्रामक रोग हो । यो भाइरस सबैभन्दा पहिला २०१९ डिसेम्बरको अन्त्यतिर चीनको हुवेई प्रान्तको वुहान सहरमा देखापरेको थियो । यो भाइरस अहिले विश्वभर फैलिएको छ । कोरोना भाइरसलाई अहिले विश्व स्वास्थ्य संगठन (WHO) ले कोभिड–१९ (Covid-19) भनेर नामकरण गरेको छ । यस भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा पनि गरिएको छ । भाइरस यस्तो अत्यन्तै सुक्ष्म जीवाणुु हो जसले समय समयमा आफ्नो रुप परिवर्तन गरिरहन्छ । हालसालै त झन नयाँ किसिमका कोरोना भाइरसहरु देखा परेका छनः जिटा, इटा र थिटा त्यस किसिममा पर्दछन् । यो भाइरसको कारण धेरै मानिसहरुको ज्यानसमेत गएको छ ।
कोरोना भाइरस श्वासप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ््यु गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । यस रोग लाग्दा देखिने लक्षणहरु १०० वा सोभन्दा बढी डिग्री फरेनहाइटसम्म ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने आदि हुन । यदि यस्ता लक्षणहरु देखापरेमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा गई सम्पर्क राख्नु पर्दछ । यस रोगको जोखिमबाट बच्नको लागि बेलाबेलामा साबुनपानीले हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्ने, खोक्दा वा हाछ्यु गर्दा नाक मुख टिस्यु पेपर वा कुहिनाले छोप्ने, भिडभाडमा नजाने, हात मिलाउनु वा अंकमालको सट्टा नमस्कार गर्ने, मास्क लगाउने जस्ता कार्यहरु गर्नुपर्दछ । हामी ज्वरो र खोकी लागेको छ भने पनि अरु व्यक्तिबाट टाढा रहने र मास्कको उचित प्रयोग गर्नु पर्दछ । हामीले हाछ्यु गर्दा मुख छोपेको टिस्यु पेपरलाई बिर्को भएको फोहोर फाल्ने भाँडामा फाल्ने र फालीसकेपछि राम्रोसँग हात धुने अथवा हातलाई स्यानिटाइज गर्नुपर्छ । भिडभाडमा जाने व्यक्तिलाई नजान सुझाव दिने, कोरोनाको लक्षण देखिएमा तुरुन्तै परिक्षण गर्ने, परीक्षणको रिपोर्ट पोजिटिभ आई कोरोना भएको प्रमाणित भएमा घरमै बस्दा पनि परिवारका सदस्यहरुबाट १४ दिनसम्म छुट्टै कोठामा आईसोलेसनमा बस्नु पर्दछ । यस्तो काम नगरेमा नोबेल कोरोना भाइरसले सार्स सम्म गराउन सक्दछ ।
शिक्षा मानिसको लागि अति महत्वपूर्ण र अपरिहार्य वस्तु हो । यसले मानिसलाई प्रगतिको मार्गमा डोर्याउँछ । यसले मानिसको व्यक्तित्व विकास गरी आत्मनिर्भर बनाउँछ । समय सँगसंगै विश्व अघि बढ्दै जाँदा सबै क्षेत्रहरुमा तीब्र गतिले विकास र विस्तार हुँदै आएको छ । जसको कारण हाम्रो समाजमा भएका परिवर्तनहरु प्रत्यक्ष देख्न सकिन्छ । त्यसैगरी आजको शिक्षा क्षेत्र पनि भिन्न प्रकारले अघि बढिरहेको छ । यसै क्षेत्रमा कोरोना भाइरसले विश्वव्यापी महामारीले त शिक्षा प्रणाली नै नयाँ रुपमा विकसित हुन थालेको छ । अचानक देखापरेको कोरोनाको प्रकोपले यो संसारलाई अचम्मित बनाई मानव जीवनमा ठूलो क्षति गराउँदै आएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द भई भर्चुअल माध्ययमबाट कक्षा सञ्चालन भइरहेको छ । विद्यार्थीहरुले सो विद्यालयमा नै गई पठनपाठन गर्न पाइरहेका छैनन् । विद्यार्थीहरु साथीभाइसँग विद्यालयमा बिताउने समयहरुलाई सम्झँदै घरमै बसिरहेका छन् । शिक्षक, शिक्षिका, गुरु, गुरुआमाहरुसँगै बसेर पढ्न पाएका छैनन् । विद्यार्थीहरु प्रायः एक्लै बसेर पढ्ने र गृहकार्य गर्ने गरेका छन् । कोभिड–१९ ले गर्दा शिक्षामा निकै प्रभाव परेको छ । यसले अरु क्षेत्रमा पनि त्यत्तिकै प्रभाव पारिरहेको छ । यसका कारण शिक्षण सिकाइ बन्द भएको छ । नेपाल सरकारले शिक्षालाई निरन्तरता दिनको लागि वैकल्पिक शिक्षाको माध्यमबाट शिक्षण कार्यलाई अगाडि बढाउने अवधारणा ल्याएको र सोही बमोजिम विद्यालयहरुले त्यस कार्यलाई निरन्तरता दिँदै आइरहेका छन् । तर हाम्रो जस्तो भौगोलिक अवस्था भएका मुलुकमा यस कार्यले ग्रामीण वस्तीहरु, दुर्गम र दुर दराजमा रहेका व्यक्तिहरुलाई समेट्न सकिरहेको छैन । अहिले सञ्चालनमा आइरहेको कक्षाहरु जुम, स्मार्ट स्कुल आदिबाट सञ्चालन भइरहेका छन् । कतिपय व्यक्तिहरुको आर्थिक अवस्था कमजोर भएको कारणले वैकल्पिक शिक्षा उपयोग गर्न पाइरहेका छैनन् । कतिपय विद्यालयहरुले त्यस्ता व्यक्तिहरुलाई निःशुल्क मोवाइल समेत प्रदान गरेका छन भने कतिपय विद्यार्थीहरुलाई शिक्षकहरुले घर घरमा गएर उनीहरुको अवस्था बुझेर सरसल्लाह गरेर घरमा नै केही कार्य दिने वा पढाउने गरेको पनि पाइएको छ । यसले गर्दा गरिब बालबालिकाहरुलाई सजिलो भएको छ । तैपनि कति विद्यार्थीहरुले अझै पनि पढ्न पाएका छैनन् । सबै विद्यार्थीहरुको घरमा नेट, मोवाइल र टिभी पनि त हुँदैन नि । सबै मानिस एकैनास त कहाँ हुन्छन् र ? अब देशले उनीहरुका लागि पनि केही गर्लान भन्ने मैले आश बोकेको छु ।
आखिर म पनि त विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा हुँ । यस्ता कुरा हामीले नबुझे अरु कस्ले बुझ्लान र ? अझ स–साना बालबालिकाहरुलाई सिकाउने काम पनि हाम्रै त हो नि । यस माहामारीबाट बच्नका लागि भनेर पहिले त बन्दाबन्दी (लकडाउन) गरिएको थियो तर अहिले भने लकडाउन छैन । विद्यालयहरु अझै पनि बन्द नै छन् । त्यसकारण अनलाइन कक्षाहरु सञ्चालनमा आएका हुन । अनलाइन कक्षा पढ्नका लागि सबैको घरमा नेट जडान गरिएको हुँदैन । विद्यार्थीहरु अनलाइनको पहुँचमा नहुन सक्छन । कक्षा १० ले एस.ई.ई दिन नपाएको पनि दुई वर्ष भइसकेको छ । कक्षा ११ का विद्यार्थीहरुले पनि पहिलेको वर्ष परीक्षा दिन पाएका थिएनन् । तर अहिले भने जसोतसो गरी केही विद्यालयहरुमा परीक्षा भइसकेको छ भने केहीमा हुने प्रक्रिया छ । कोरोनाको माहामारी अझै पनि तीब्र गतिमा बढिरहेको छ । पहिलेको वर्ष झन् सबै विद्यार्थीहरु विचल्ली भएका थिए । तर अहिले भने त्यसका लागि एक उपाय पनि छ । हामीले शिक्षाबाट बन्चित हुनुभन्दा घरमै बसेर बाहिरी किताबहरुबाट ज्ञान लिन सक्छौं । स्कुलकै किताब पढ्नु पर्छ भन्ने पनि छैन । बाहिरी किताबहरु पढेर आफुले नजानेका र नबुझेका प्रश्नहरु घरमै आमाबुबाहरुलाई सोधेर हल गर्न सकिन्छ । घरायसी कामहरु गर्न सकिन्छ, आमाबुबाको काममा सघाउने जस्ता कामहरु घरमै बसेर गर्न सकिन्छ । यस्तो बेलामा बाहिर निस्कनु ठिक हुँदैन । परीक्षाको कुरा गर्ने हो भने अझै पनि कक्षा १२ तथा विश्वविद्यालय तहका परीक्षाहरु स्थगित हुने हो कि ? भन्ने विद्यार्थीहरुमा मानसिक चिन्ता पैदा भई अन्योल छाएको छ।
सबै जना विद्यार्थीहरु घरमै बस्नु परेकोले आफ्ना बालबालिकाको हेरचाह गर्नु परेकोले अभिभावकहरु पनि घरमै बस्नु परेको छ, जसका कारणले गर्दा महिलाहरुको स्मरण शक्ति पनि कमजोर भैरहेको छ । महिलाहरुले आफ्नो रोजगारी समेत गुमाएका छन । त्यस्तै उनीहरुको भविष्य कस्तो हुने हो ? भन्ने चिन्ताले पिरोलेको छ । घरमा कोही नहुने बेलामा उनीहरुको ध्यान भट्किन सक्ने सम्भावना बढी छ । साथै विद्यार्थीहरुमा शारीरिक खेलकुदको कमी हुने जसले गर्दा स्वास्थ्य समस्याहरु देखिन सक्ने, अतिरिक्त क्रियाकलाप कम मात्रामा हुने, प्रयोगात्मक कक्षाहरु त्यतिको प्रभावकारी नहुने, प्रष्टसँग नबुझिने मूल्याङ्कन राम्रो नहुने जस्ता समस्या पनि देखिएको छ । धेरै बौद्धिक जनशक्तिले रोजगारी पनि गुमाउनु परेको छ । जे भए तापनि यो माहामारीको बेलामा शिक्षा क्षेत्रको समस्या समाधान गर्न केही हदसम्म प्रविधिले सहयोग गरेको छ । त्यसैले यसलाई अझैं व्यवस्थित र सुनियोजित ढैगले विकसित गर्दै लैजानु पर्ने आजको अवस्था देखिन्छ । विद्यालय जान नपाउँदा घरमै बसिरहँदा विद्यार्थीहरुमा अनेकौं प्रकारका मनोवैज्ञानिक समस्याहरु पनि बढ्न थालेको छ । घर परिवारमा हुने कलहका कारण सामाजिक अपराधहरु बढेको अवस्था छ । कलिलो उमेरका विद्यार्थीहरु बाल श्रमिक बन्न सक्ने जोखिम उत्तिकै बढेको छ । सरकार अझै पनि यस माहामारीबाट बच्न निकै प्रयास गरिरहेका छन् । पहिले भने यस भाइरसको खोप बनिसकेको थिएन तर अहिले भने वैज्ञानिकहरुको लामो प्रयासपछि यस भाइरस विरुद्ध खोप तयार भइसकेको छ । उमेर समूहका जेष्ठ नागरिकहरु, स्वास्थ्य र सुरक्षकर्मीहरु, कर्मचारीहरु, शिक्षकहरु, राजनीतिक दलका व्यक्तिहरुले खोप लगाई सकेका छन् तै पनि अझै थुप्रै मानिसहरुले खोप लगाउन पाएका छैनन् । देशले खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । विस्तारै सबै देशहरुले आफ्ना नागरिकहरुलाई खोप लगाउने प्रक्रिया सुरु गरेका छन् । अब छिट्टै नै यस माहामारीबाट बच्ने छौं र यस भाइरसको प्रकोपबाट हामीले छुट्कारा पाउने छौं । कोरोना भाइरस खतरनाक रोग भएकोले यसबाट बच्न देशमा भएका नागरिकहरुलाई सचेत गराउनु आजको आवश्यकता हो । यसका लागि विभिन्न माध्यमबाट व्यक्तिहरुमा चेतना जगाउने जानकारी फैंलाउने जस्ता कार्यमा शिक्षित र विवेकी व्यक्तिहरुद्धारा अग्रसरता गराउनु पर्दछ । समस्याहरुको समाधानका लागि राष्ट्रिय स्तरबाट पहल गर्नुपर्दछ । र सबैले त्यसमा सहयोगीको भूमिका खेल्नु पर्दछ । गाउँ गाउँमा इन्टरनेटको सुविधा पुर्याउनु पर्दछ । निम्न वर्गका विद्यार्थीका लागि कम्युटर, ल्यापटप आदि आवश्यक उपकरणहरु निःशुल्क उपलब्ध गराई अनलाइन कक्षाहरुलाई प्रभावकारी ढंगले अघि बढाउनु पर्दछ ।
अन्त्यमा, यो महामारीको समयमा पनि वैकल्पिक शिक्षालाई व्यावहारिक, वैज्ञानिक, जीवनोपयोगी साथै परियोजनामूलक बनाई शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग, उत्पादनलाई समृद्धिसँग, समृद्धिलाई सन्तुष्टिसँग जोड्नका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले विशेष प्राथमिकता दिनु पर्दछ । समाजमा नागरिकहरुले आफ्ना बालबालिकाहरुलाई असल, सभ्य, शिष्ट, सज्जन नागरिक उत्पादन गर्नका लागि दिमागमा समझदारी, मस्तिष्कमा इमान्दारी र काँधमा जिम्मेवारीलाई आत्मासात गर्न सकेमा पनि वैकल्पिक शिक्षा अगाडि बढ्न सक्छ । विद्यालयमा गएर मात्र शिक्षा आर्जन गर्न सकिन्छ भन्ने भनाइलाई यस्तो अवस्थामा सान्दर्भिक मानिदैन् । त्यसैले पनि हामी सबैले यो महामारीमा पनि घर परिवारबाट नै असल तथा नैतिक शिक्षालाई पनि अगाडि बढाई नागरिकलाई आदर्शवान् बनाउनुपर्दछ ।
(प्रकाश मावि बेनीले शुक्रबारीय कार्यक्रम अन्तर्गत आयोजित निबन्ध लेखनमा प्रथम स्थान हासिल गर्न सफल निबन्ध ।)
