म्याग्दीका खोमराज ‘वर्ल्ड आइडल’को मनोनयनमा
बेनी
भदौ १४
म्याग्दीको बेनी नगरपालिका–५ का दृष्टिविहीन खोमराज शर्मा वर्ल्ड आइडलको मनोनयमा परेका छन् । पोखरामा रहेर दृष्टिविहीनको शिक्षा, रोजगारमा पहुँच बढाउन र सशक्तीकरणको क्षेत्रमा क्रियाशील शर्मालाई नेपाल नेत्रहीन संघले ‘वल्र्ड आइडल’मा नेपालको तर्फबाट मनोनयन गरेको हो । नमुना काम गरेका विश्वभरका दृष्टिविहीन मध्येबाट छानिने सो उपाधिका लागि नेपालबाट शर्माको नाम मनोनयमा परेको हो । विश्वका विभिन्न मुलकबाट आवेदन दिई छनोटमा परेकाहरुलाई अनलाइन भोटिङसमेतका आधारमा मुल्याङ्कन गरी विजेता घोषणा गरिने उपाधिका दावेदार शर्माले जानकारी दिए ।
वि.सं. २०५६ सालदेखि नेपाल नेत्रहीन संघ, बागलुङ, इलाम र कास्की जिल्ला शाखाको विभिन्न जिम्मेवारीमा रहेका शर्मा नेपाल नेत्रहीन संघको गण्डकी प्रदेश अध्यक्ष र केन्द्रीय उपाध्यक्षसमेत हुन् । कास्की नेत्रहीन संघमार्फत् पोखरामा नेपालकै पहिलो अडियो पुस्तकालय स्थापना, दृष्टिविहीनका लागि पोखरामा सुचना प्रविधि तालिम सञ्चालनलगायतका विभिन्न अभियानमा शर्मा संलग्न रहँदै आएका छन् ।
दृष्टिविहीनहरुको हक, अधिकार र प्रविधिमाथिको पहुँच सुनिश्चित गर्न सकृय शर्माले आफुलाई अनलाइन भोटिङमार्फत् सहयोग गर्न सार्वजनिक अपिलसमेत गरेका छन् । आज बेलुका (सोमबार) सम्म अनलाइन भोटिङ गरिदिन उनले गृहजिल्ला म्याग्दीलगायतका आमनेपालीलाई अनुरोध गरेका हुन् ।
शर्मालाई अनलाइन भोटिङमार्फत् जिताउनका लागि तलको लिङ्कबाट सहयोग गर्न सकिन्छः Khomraj Sharma - IDOL 2021 Voting (chancefortheblind.org)

