कक्षा ११/१२ को रजिष्ट्रेशन र परीक्षा फाराम असार २० सम्म बुझाउनुपर्ने
बेनी
असार १२
राष्टिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा पढदै गरेका विद्यार्थीको रजिष्ट्रेशन फारम र परीक्षा आवेदन फाराम बुझाउने समयसीमा थप गरेको छ । शुक्रबार एक सूचना प्रकाशन गर्दै बोर्डले असार २० गतेसम्मको म्याद थपेको हो । यसअघिको सूचनामा फारम बुझाउनका लागि चैत मसान्तसम्मको सीमा तोकिएको थियो ।
बोर्डका परीक्षा नियन्त्रकद्वार जारी गरिएको सूचनाअनुसार ती दुबै फारम बुझाउने मिति चैत मसान्तसम्म तोकिएकोमा विभिन्न कारणवश फारम बुझाउन नसकेका विद्यार्थीलाई असार २० सम्मको समय थपिएको हो ।
चैत मसान्तसम्म फाराम बुझाउन वा भर्न छुटेका विद्यालय तथा विद्यार्थीहरूका लागि आगामी असार २० गतेभित्र दोब्बर दस्तुरसहित बुझाउनका निम्ति बोर्डले सूचित गरेको हो ।
दोब्बर दस्तुरमा रजिष्ट्रेशनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार दुई सय तिर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

