आजदेखि बडादशैं शुरुः घरघरमा घटस्थापना गरी जमरा राखिँदै
बेनी
असोज २१
नेपालीहरुको मुख्य चाड बडादशैं शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दु धर्मावलम्बीहरूको महान् पर्व आजदेखि शुरु भएको हो ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेशको पुजा गरी समृद्धिको घटस्थापना गरिन्छ ।
घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेट मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँघरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक आज जमरा राखिन्छ । जमरा राखिन्छ । जमराका लागि जौ, मर्क, गहुँ आदि हविष्य अन्नलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । घटस्थापनाको दिनदेखि जमरा छरिएको ठाउँमा नवरात्रिभरि नै हरेक दिन देवीको पूजा–अर्चना गरिन्छ ।
घटस्थापना नेपाली संस्कृतिसँग मात्र जोडिएको नभई वैज्ञानिकतासँग पनि जोडिएको नेपाल वेद विद्याश्रमका अध्यापक कृष्णप्रसाद भण्डारीले बताए । ’’वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको धेरै महत्व रहेको छ । आयुर्वेदिक ग्रन्थमा जौबाट गर्न सकिने उपचारको उल्लेख गरिएको छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएको विषय सर्वविदितै छ ।’’
वैदिक सनातन संस्कृति अनुसार जौमा अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको १६ किसिम (षोडशोपचार) ले पूजाअर्चना गरिन्छ ।
घटस्थापनासँगै दशैंको नवरात्री शुरु भएको छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
दशैँलाई असत्यमाथि सत्यको अनि आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने चलन रही आएको छ ।