दशबुँदे पालना नगरेर माधव नेपालले गल्ती गरेः गुरुङ

बेनी
भदौ २५



नेकपा एमालेका सचिव एवं स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले माधव नेपालले दशबुँदे सहमति नमानेर ऐतिहासिक गल्ती गरेको बताएका छन् । नेकपा (एमाले) म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले दशबुँदे सहमतिको कार्यान्वयन गर्नुको सट्टा नेता नेपालले पार्टी फुटाएको बताएका हुन् ।

केपी ओली र माधव नेपालसँग सल्लाह गरेरै दशबुँदे सहमति तयार भएको बताउँदै सचिव गुरुङले आफैले वार्तामा पठाएका नेतालाई विश्वास नगरेर अर्काले उचालेको भरमा पार्टी फुटाउनु नेता नेपालको ठूलो गल्ती भएको जिकिर गरे । उनले भने, ‘केपी ओलीले दशबुँदेको अनुमोदन गर्नुभयो । समर्थन गर्नुभयो र त्यसलाई कार्यान्वयनमा लैजानुभयो । तर माधव नेपालले यसमा मेरो असहमति छ, म यो स्वीकार्न सक्तिन भन्नुभयो ।’  



नेताहरुलाई मिलाउनका लागि अब महाधिवेशनसम्म माधव नेपालजीलाई अर्को अध्यक्ष दिएरै भए पनि पार्टीको एकता जोगाऔं भनेर आफूले प्रस्ताव गरेको सचिव गुरुङले बताए । लामो छलफलबाट केपी ओलीले यो प्रस्ताव स्वीकारेपछि विष्णु पौडेल र सुवास नेम्बाङ प्रस्ताव लिएर माधव नेपालकहाँ गएको बताउँदै नेता गुरुङले भने, ‘तर माधव नेपालले चाहिँ दोहोरो भूमिका खेल्नुभयो, बाहिर बाहिर विधि, पद्धति भन्ने भित्रचाहिँ महाधिवेशनबाट चुनिएको अध्यक्षसमानकै हैसियत खोज्ने ।’ 
 
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका सचिव गुरुङले भने, ‘एमालेको दोस्रो अध्यक्ष बनाउँदा, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउँदा र सबैखाले कारवाही फुकुवा गर्दा पनि पनि माधव नेपालले पार्टी फुटाउनुका पछाडि माओवादी अध्यक्ष प्रचण्डसँग उनको कस्तो सम्झौता भएको रहेछ भन्ने बुझ्न सकिन्छ ।’ नेकपा एमालेको विचार, संगठन र लोकतान्त्रिक विधि पद्धति बेवास्ता गरेर नयाँ पार्टी खोल्न तम्सिने माधव नेपालको पछिल्लो व्यवहार आफूभित्रको बिनाको महत्व थाहा नपाएर जंगलमा भौतारिने कस्तुरीको जस्तै भएको नेता गुरुङको भनाइ थियो ।



सोही भेलालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले माधव नेपाल समूहले बनाएको एकीकृत समाजवादी पार्टी दक्षिणपन्थी अवसरवाद भएको बताए । उनले नेपाली कांग्रेसले भन्दै र गर्दै आएको बुर्जुवा समाजवादी कार्यक्रम र माधव नेपाल समूहको एकीकृत समाजवादीले अँगालेको समाजवादी कार्यक्रममा कुनै अन्तर नभएको बताउँदै माधव समूहको समाजवाद वैज्ञानिक समाजवाद हो कि कांग्रेसको बुर्जुवा समाजवाद हो ? भनेर प्रश्नसमेत गरे । नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको बताउँदै नेता गुरुङले पार्टी फुटको असर देशमा कहिँकतै नपरेको र स्थानीय तहमा आइपुग्दा १० प्रतिशतभन्दा कम जनप्रतिििधले मात्र माधव नेपाललाई पत्याएको आँकडा प्रस्तुत गरेका थिए । गलत विचार बोकेर माधव नेपाल पतनको बाटोतर्फ लागेको बताउँदै उनले भने, ‘माधव नेपाल सच्चिए ठिक छ, नभए त्यही पतनको बाटोमा जाने हो ।’

नेकपा एमाले गण्डकी प्रदेश कमिटी कार्यालय सदस्य नवराज शर्माले एमालेमा अहिले फुटको असर देखिए पनि फेरि हरियाली आउने बताए । एमाले बागलुङका अध्यक्ष ईन्द्रलाल सापकोटाले देउवाको पछि लागेर यो देशमा समाजवाद नआउने बताउँदै माधव नेपालले पार्टी फुटाएर गलत काम गरेको धारणा सुनाएका थिए । 

एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवेन्द्र केसीको स्वागत र सचिव बालकृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न जिल्ला भेलामा जिल्लाको ६ वटै स्थानीय तहबाट जनप्रतिनिधिसहित नेता, कार्यकर्ताको सहभागिता थियो । 

Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes