आखिर तपाईं को हो ?

बेनी
भदौ १२


निबन्ध

मानिसको जन्म र मृत्यु नै जब उसको खटनमा छैन भने उसले बुझ्नुपर्छ कि उसको यो जीवन पानीको फोका जति पनि मजबुत छैन।


सबैलाई जगाउने गरी भोर वेला (मिर्मिरे उज्यालो) को पहिलो सङ्केत आयो– कुखुरी काँ !! समयको पहरेदारको पहिलो डाँक न उसका नाडीमा विज्ञानले बनाएका आधुनिक घडी छन्, न त वैदिक परम्परा अनुसार घडी–पला खुट्याउन सक्ने विद्या। निस्पट्ट अँध्यारोमा यस अवचेतन प्राणीसँग प्रकृतिले दिएको अद्भुत क्षमता अर्थात् दुनियाँ ब्युँझाउने ‘कुखुरी काँ’ आवाज छ ।

यही डाकसँगै शुरू हुन्छन् शुभ अनि अशुभ मुहूर्त र रीतिरिवाज । आफैंले बनाएका गुँडमा, रूखका हाँगाहरूमा, घरका बार्दली र पालीका चेपचापमा टुसुक्क रात बिताइरहेका चराचुरुङ्गीले पखेटा फट्फटाएर ब्युँझने समय बल्ल हुँदै छ । अनि एकछिनपछि सुस्तरी पूर्वी क्षितिजबाट नवदुलहीको सिउँदो झैं झलझलाकार भएर नयाँ उमङ्ग उदाउनेछ । 

दुनियाँभरका प्राणी आफ्नै लय र गतिमा सलबलाउन थाले । सृष्टि र विनाशको नियति आफ्नै नियम अनुसार चलिरहेको थियो। समय नाफा र नोक्सानको मोलतोलमा निर्लिप्त भइसकेको थियो। महाशक्तिवान् सूर्य आफ्ना रापिला किरणहरूले चराचरलाई सेक्दै, झन् झन् तेजस्वी भएर मध्याकाशतिर उक्लिँदै थियो।

सूर्यको तापले जगत्ले एकपछि अर्को गर्दै आङका पत्रहरू फुकाल्न थाल्यो। राप झन् पछि झन् बढ्दै जान थाल्यो। बिस्तारै पृथ्वी तातो खरानीमा पुरेको आलु झैं तात्न थाल्यो। सूर्यले झन् पछि झन् आफ्नो प्रचण्ड रूप देखाउन थाल्यो। उड्दै गरेका पक्षीहरू उष्णताको पीडाले उड्दाउड्दै भुइँमा खस्न थाले। बोटबिरुवा ओइलाएर लत्रक्क भए। जनावरहरू पानीका कुण्ड र तलाउतिर गएर डुबुल्की मार्न थाले। चिसो बतास पनि बाफिएर बेपत्ता भयो। मानिसहरू सियाँलमा बसेर आफैंलाई हम्किन थाले। 

सूर्य आफ्नो प्रताप र क्रूरताको उत्कर्षमा थियो।


प्रतीकात्मक तस्वीर


एक क्षण बित्यो, दुई क्षण बित्यो, केही क्षण बित्यो। महाप्रतापी सूर्य ढल्किँदै गयो, कोल्टिँदै गयो र चुच्चो भाँचिएको बाज झैँ अनि दाँत फुक्लिएको बाघ झैँ विवश हुन थाल्यो। अन्ततः खेदपूर्ण मलिन मुहार बनाएर खुइय्य सुस्केरा हाल्दै डाँडापारि विलुप्त भयो।

अनि फेरि जगत्ले शीतल जून ताप्न थाल्यो।


वर्षाद्को मौसम थियो– असार महीना। चारैतिरबाट घना बादल हातेमालो गरेर क्रौञ्च पक्षीको झुन्ड झैं उडेर आउँथ्यो र ठूलो गर्जन, चमकधमक गरेर बर्सिन्थ्यो भुँइभरि। छानाका बलेँसी बलिन्द्र धारा बगाएर रुँदा पनि, मकैका पातहरूले वर्षाद्ले चुटिएर पीडाबोध गराउँदा पनि रात सङ्गीतमय नै लाग्थ्यो। शिरमै चट्याङ परे झैं गरी बिजुली चम्काउँदै बादल पड्किँदा धेरैका मन थर्र गर्थे। रातभर झरी परिरह्यो। जान्ने बुझ्नेहरू भोलिको परिस्थितिको कल्पनाले रातभर जाग्राम रहे, उज्यालो कहिले होला ?

अनुभवीहरूको मन त्राहिमाम भए झैं उज्यालोले विपद् लिएर आइपुग्यो। पहाडी खोलाहरू यसरी उर्लिंदै आए, मानौँ उनीहरू कुनै राज्यमा आक्रमण गर्न जाँदै होऊन्। छेउकुनाका भित्ता, डिलहरू भत्किन बाँकी रहेनन; बडेमाका ढुङ्गाहरू पनि ठोक्किँदै, फुट्दै ओरालै दगुर्न थाले। जति जति उँधो गयो उति उति विध्वंसात्मक बन्दै गए खोलाहरू– कतै डुबाउँदै, कतै बगाउँदै। मानिसहरू जिउ जोगाउन टाढा टाढा भागे, छोराछोरीलाई काँधमा बोकेर भागे, गोठमा बाँधेका गाईबस्तुका दाम्ला फुकाइदिएर भागे, खसीबाख्रा डो¥याउँदै भागे, पाठापाठीलाई खोकिलामा च्याप्दै भागे– जो जसरी परपरसम्म भाग्न सक्थे भागे। 

खेतबारीमा जीवन फुलाउने पानी जीवन निमिट्यान्न पार्न उद्यत थियो।

सगर (आकाश) रित्तियो, झरी थामियो । जुरो नझरेको बहर गोरु झैँ उन्मत्त पहाडी खोला हेर्दाहेर्दै हावा खुस्किएको भकुन्डो झैँ भुँइमै थचारिन थाल्यो। उसकै सहयात्री बनेर दौडिएका बुट्यान, ढुङ्गा, ठुटाठुटी सबै बगरमा अलपत्र भए। छिनभरको तमासा विगत भएर सकियो।


धेरैलाई चैत महीना उराठलाग्दो लाग्दो रहेछ। हुन त यो वसन्त ऋतुको महीना, ऋतुराजको महीना। न उष्णता, न सिमसिम पानी, न रमरम जाडो। प्रकृतिको यौवन फक्रिने समय– वसन्त बहार। कवि–कलाकारहरू रमाउने ऋतु। बोटबिरुवामा पालुवा, चेरीका फूल, शिरीषका फूल, लालीगुराँस .आहा ! तर, समय समयमा आँगन नै उचालेर भएभरिको धूलो शिरबाट घोप्टाइदिने चक्रवातले मन धमिलो बनाउँछ। यो समय नै आगो र बतासको रोजाइको समय हो ।

एकाबिहानै दिन राम्रैसँग आरम्भ भएको थियो । गाउँका दिन गाउँकै र शहरका दिन शहरकै तरिकाले गति समात्दै थिए– वर्णन गर्न नपरिहाल्ने गरी। अलि अलि गर्दै पनि होइन, कुनै पूर्वसङ्केत दिएर पनि होइन; सूक्ष्मतम सङ्केतका रूपमा मधुरो हावा उठ्यो अनि एकाएक पश्चिमबाट बटारिँदै आयो भयानक हुरी–तूफान। 

कसैले पनि आफूलाई सम्हाल्नै भ्याएनन्। साइकलमा गुड्दै गरेका साइकलबाटै गुल्टिए, हिँड्दै गरेकाहरू हुत्तिएर सडकछेउमा बजारिए, कोही थुचुक्क बसेर अनुहार लुकाउन थाले, रूखका हाँगाहरूले वल्लो भुइँ र पल्लो भुइँ छुन थाले, धर्तीसँग बलियो सम्बन्ध नभएका रूखहरू धर्तीमै ढले, जस्ताका छानाहरू जोरले ठटाउँदै र म¥याकमुरुक गर्दै उडेर जमीनमा बजारिन थाले। परालका टौवा पनि चुइँचुइँ गरेर बत्तिन थाले। गोठ कट्कट् गर्ने आवाज निकाल्दै हल्लिन लागे। ‘हरे राम ! हरे राम !’ भन्दै तुलसीको मठनेर बसेर जप गर्न लागेका ब्राह्मण जसोतसो धोती र रामनामी स्याहार्दै भित्रतिर दगुरे। हुरीले भ्याएसम्म आफ्नो शक्ति परीक्षण गर्दै थियो।

थोरै बेरमा हुरी द्रुत गतिको रेल झैँ गुज्रियो। ताण्डव नृत्य रोकियो। चारैतिर चकमन्न भयो। मानिसहरू फेरि उडेका, भत्किएका, छरपस्टिएका जिन्दगीहरू बटुल्न थाले।

अब म तपाईँलाई प्रश्न गर्छु– प्रकृति के हो? यसको शक्तिको केन्द्र कहाँ छ? यसको सञ्चालन विधि के हो? यसको शासन पद्यति कस्तो हो? यसको मूल कानून कुन हो? यसको संशोधनकर्ता को हो ? कि यो अपरिवर्तनीय छ ? के प्रकृति पूर्ण छ ? खोटरहित? 


के प्रकृति सृष्टि र संहारको सन्तुलन हो भन्न मिल्छ? के प्रकृति शक्तिको सन्तुलन हो भन्न मिल्छ ? जहाँ असन्तुलित र धेरै शक्ति सञ्चय हुन्छ, त्यहाँ उपद्रो हुन्छ, विनाश हुन्छ। सञ्चित शक्ति दम्भ हो, उत्पात हो । यसको आयु छोटो हुन्छ। हुन्डरी झैँ, भूकम्प झैँ, डढेलो झैँ, न आफू रहन्छ न अरूलाई चैन दिन्छ। प्रकृतिबाटै सिर्जित सञ्चित शक्ति भनौं वा अनधिकृत शक्ति, सधैँ प्रकृतिकै विरुद्ध हुन्छ।

मित्र, यो तपाईंको केको दम्भ हो ? केको उन्माद? तपाईं त फगत मानिस हो। सृष्टिकर्ताको एक मात्र चेतनशील रचना। आफू श्रेयष्कर प्राणी हुनुको यति ठूलो घमण्ड किन ? के तपाईं सृष्टि गर्न सक्नुहुन्छ ? के तपाईं दिन र रातलाई साटफेर गर्न सक्नुहुन्छ ? धर्तीमा नौ लाख तारा उदाउन सक्नुहुन्छ ? आकाशको रङ फेर्न सक्नुहुन्छ ? एक निमेषको समय रोक्न सक्नुहुन्छ ? यो धन, दौलत, ऐस, आराम, यो वैभव के तपाईं आफैंले सिर्जना गर्नुभएको हो ? कि यतैतिर बटुलबाटुल पार्नुभएको हो ? तपाईँ आफ्ना हत्केलाका रेखा सोझ्याउन सक्नुहुन्न, आफ्नै ललाट (निधार) को भाग्य पढ्न सक्नुहुन्न, अनि तपाईं को ? 

दुनियाँ यति अबुझ र कायर छैन कि ऊ तपाईंको सञ्चित वैभव देखेर थर्थर काँपोस्। तपाईंका मनमा थिग्रिएको यो उन्माद ठूलो जलाशयमा जमेको पानी जस्तै हो, डिल भत्कियो भने क्षणमै स्वाहा! जीवनको रीत कलकल बग्ने कञ्चन सरितालाई सोध्नोस्। 

मानिसको जन्म र मृत्यु नै जब उसको खटनमा छैन भने उसले बुझ्नुपर्छ कि उसको यो जीवन पानीको फोका जति पनि मजबूत छैन।

मित्र, तपाईंको यो वृथाभिमानको पेरुङ्गोलाई एकछिन ऊ त्यो परको ढुङ्गामा बिसाएर बताउनुहोस् त, आखिर तपाईं को हो ?

हिमालखबरबाट

Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes