बच्चा पाउनुभन्दा ‘असल’ बनाउनु ठूलो कुरा होः मनोविद् उपाध्याय

बेनी

साउन १९ 


डा. कपिलदेव उपाध्याय


कोभिड–१९ महामारीले प्रभाव पारेको धेरै पक्षमध्ये शिक्षा क्षेत्र पनि एक हो । संक्रमण जोखिमले विद्यालय बन्द हुँदा विद्यार्थीहरु सिकाइका लागि मोबाइल, ट्याब अनि कम्प्युटरको डेस्कटप र ल्यापटप स्क्रिनमा सीमित भएका छन् ।


विभिन्न अनुसन्धानले बालबालिकाको उमेर अनुसार स्क्रिनको समय १ देखि ४ घण्टा तोकिदिएको भए पनि दिनभरिको अनलाइन कक्षाले उक्त मापदण्डलाई मान्न सक्दैन ।


डिजिटल डिभाइससँग निरन्तर संगतले बालबालिकाको मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ र यसको दीर्घकालीन असरहरु के के हुन सक्छ भन्ने बारेमा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिल देव उपाध्यायसँग गरिएको कुराकानी यस्तो छः


बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्य भन्नाले के बुझिन्छ ?

बच्चा जन्मँदा उनीहरुको मस्तिष्क सिक्ने अवस्थामा हुन्छ । मानव मस्तिष्कमा नसा कोष (न्यूरोन्स) हरुलाई जोड्ने डेनड्राइर्स हुन्छ । बच्चाहरुले जति सिक्दै जान्छन् न्यूरोन्स र डेनड्राइर्स बढ्दै जान्छ ।


बच्चाहरुले जन्मेको बेलादेखि पहिलो ७ वर्षभित्रमा धेरै कुराहरु सिक्छन् । सिक्ने क्रमको बारेमा कुरा गर्दा बच्चाले सबैभन्दा धेरै सिक्ने उसको आमाबाट हो । त्यसपछि परिवारका अरु सदस्य अनि उसले खेल्ने साथीहरु हुन्छन् । उसको सिकाईमा वरपरको वातावरण प्रमुख तत्व मानिन्छ ।


बच्चाहरुलाई यसो गर उसो गर भनेर सिकाए सिक्छ भन्ने ठान्छौँ, तर वास्तवमा बच्चाको मनस्थितिले अरुले जे गरिरहेको छ, त्यसलाई देखेर राम्ररी र चाँडै टिप्छ, अनुभव गरेर बढि सिक्छ । जस्तो आगोले पोल्छ भन्ने कुरा आगोले छोएसी जान्दछ, हिँड्दा लडिन्छ र दुख्छ भन्ने कुरा २–४ पल्ट लडेपछि थाहा पाउँछ ।


त्यसैले बच्चाको मनोवैज्ञानिक स्वास्थ्य उसको वरपर रहने व्यक्तिहरुको व्यवहारमा भर पर्छ । बच्चालाई माया गरेर हुर्काएको छ भने ऊ मायालु हुन्छ तर उसलाई गाली गरेर, हप्काएर, कुटपिट गरेर हुर्काइन्छ, रोएको मतलब गरिन्न, भोकाएकोमा खाना दिइन्न भने उसलाई नराम्रो प्रभाव पर्छ ।


भनेपछि यो हामीले गर्ने व्यवहारसँग सम्बन्धित हुन्छ हैन त ?

हो, बच्चाको जीवनशैली भन्दा पनि हाम्रो जीवनशैलीसँग सम्बन्धित हुन्छ । बाबुआमाको जीवनशैली कस्तो छ ? माया गर्छन् कि गर्दैनन् ? पिट्छन् कि पिट्दैनन् ? खाना कस्तो खान दिन्छन्, कत्तिको समय दिएर बच्चाको कुरा सुन्छन् र खेल्छन् भन्ने कुराले प्रभाव पारिरहेको हुन्छ ।


पहिला पहिलाको चलनमा संयुक्त परिवार हुन्थ्यो । बच्चा हजुरबा हजुरआमा, परिवारका अन्य सदस्यसँग हुन्थ्यो, जसले गर्दा बच्चा बढी रमाउथ्यो । तर हिजोआज परिवारको अवधारणा फरक हुँदै आएको छ । एकल परिवार हुन्छन् । बाबा आमा त्यो पनि दुवै जना काम गर्न जाने, ३ वर्षको हुने बित्तिकै नर्सरीमा लगेर भर्ना गरिन्छ ।


यसका केही सकारात्मक पक्षहरु पनि छन्, जस्तो बच्चाले अरु केटाकेटीहरुसँग खेल्न पाउँछ । नयाँ कुरा सिक्न पाउँछ । तर केही भने मेरा बाबुआमाले मलाई छोडेर कहाँ गए, किन ढिला आए । अरु घर गइसके म किन अहिलेसम्म यहाँ छु भनेर आत्तिन थाल्छन् । यसले उसलाई नकारात्मक प्रभाव पर्न सक्छ ।


नकारात्मक प्रभाव भन्नाले ?

जीवनशैली फेरिनु सामान्य नियम हो तर यसले बालबालिकाको हुकाईमा कस्तो भूमिका खेलिरहेको छ भन्ने कुरा अभिभावकले विचार गर्नुपर्छ । जस्तो हिजोआज बच्चा भुलाउन मोबाइल दिने चलन छ । हुन त आमालाई घरको काम गर्नुपर्ने हुन्छ।


बच्चाले मोबाइल चलाउन जान्यो, लक खोल्यो अथवा अरु केही ग¥यो भने चलाउन जान्यो भनेर हामी धेरै नै खुशी हुने गर्छौँ । त्यो आफ्नो ठाउँमा छ तर मोबाइलको नकारात्मक प्रभावलाई हामी नजरअन्जाद गरिदिन्छौँ ।


मोबाइलको रेडियसन, अनि स्क्रिनमा धेरै हेर्दा आँखामा पर्न जाने समस्या, मोबाइलमा धेरै ध्यान दिँदा प्राकृतिक रुपमा सिक्नु पर्ने कुरालाई बेवास्ता गर्ने गुणहरुको विकास हुन्छ । यसो हुँदै जाँदा बच्चाहरु मोबाइलमा मात्रै भुल्ने, दोहोरो संवाद नगर्ने, अरुसँग नखेल्ने हुन्छन् ।


चिकित्सकीय भाषामा ‘एटेन्सन प्रब्लम’ भन्छन् । अर्थात यस्तो अवस्थामा बच्चाले चाहेर पनि ‘फोकस’ गर्न सक्दैन ।


अनि मोबाइलमा रमाउने बानी भएपछि उसलाई कसैले मोबाइल चलाउँदा चलाउँदै बोलाए पनि रिसाउने झर्को मान्ने हुन्छ । यसरी हुर्केका बच्चा परिवारका सदस्यसँग रमाउने, कुराकानी गर्ने खालको हुँदैनन् । बच्चालाई माटो, पानीसँग खेल भन्दा पनि मन पराउँदैनन् । विशेषगरी शहरी क्षेत्रमा यस्तो खालको समस्या देखिएको छ ।


एक्लै रमाउने गर्दा सानो बेलामा आमालाई काम गर्न सजिलो होला तर त्यसले दीर्घकालीन रुपमा के असर पारिरहेको हुन्छ भन्ने कुरा अभिभावकले त्यतिबेला अनुमान गर्न सक्दैनन् । पहिलाको खेलौना आफ्नै किसिमका हुन्थे तर निश्चित खेलौना भएकै कारण बाँडेर खेल्ने गर्थे अहिले खेल्ने तरिका फरक भएको छ ।


पहिलाको खेलाई जहाँ घाँसमा खेल्न पाइन्थ्यो, माटोमा लडिबुडी गर्न मिल्थ्यो । शरीरमा माटो लागेर खासै असर गर्दैैन, माटो पखाल्यो भने गईहाल्छ । हिँड्दा लड्यो भने आफै उठ्न दिनुपर्छ भनिन्छ ताकि लडेर उठ्न सकिन्छ भन्ने विश्वास उसमा विकास हुन्छ । तर यसमा बालबालिकालाई लड्यो भनेर ‘कठै !’ भन्दै कोही उठाउन जान्छ भने उसले आफै उठ्ने आँट गर्दैन । त्यसैले बालबालिकाको मनोवैज्ञानिक विकासमा हामीले कस्तो खालको व्यवहार गरिरहेका छौँ भन्ने कुरा सम्बन्धित रहन्छ ।


जस्तै कुनै काम नगराउनको लागि बच्चाहरुलाई गाली गर्ने अथवा भूत आएर लैजान्छ भन्नु गलत हुन्छ । किनकी त्यसले बच्चाको दिमागमा एक किसिमको डर पैदा गरिदिन्छ । किनकी उसलाई भूत कस्तो हुन्छ भन्ने पनि थाहा हुँदैन । कहाँ लैजान्छ भन्ने पनि थाहा हुँदैन ।


तपाईँले सानै उमेरमा मोबाइल लगायत स्क्रिनसँग परिचित गराउँदा एकोहोरो हुने, नबोल्ने व्यवहार हुन्छ भन्नुभयो । अनि यसको दूरगामी असर चाँही के हुन्छ होला ?


अलिअलि जान्ने भएपछि अथवा ठूलो भएपछि बच्चामा इन्टरनेट एडिक्सन देखिएको छ । यो वयस्कहरुमा पनि देखिएको छ । अर्को, कम्प्यूटर गेममा व्यस्त हुने र यस्ता गेममा बदमासहरुबाट उम्कने, उनीहरुलाई मार्ने गरिन्छ । ८ देखि १२ वर्ष सम्मका बच्चाहरु पबजी खेलिरहेका छन् । जसले बच्चाको दिमागमा ‘हिंसा’ गर्ने प्रवृति विकास गरिहेको छ । यसले मस्तिष्कलाई अशान्त पारिदिन्छ ।


शारीरिक खेलकुदचाहिँ पूर्ण सुरक्षित हुन्छ त ?

केही खेलहरु बाहेक अरुमा ‘एग्रेशन’ कम हुन्छ, तर यो शारीरिक रुपमा फाइदाजनक हुन्छ । फुटबल खेलमा एग्रेशन हुन्छ तर शरीरको शक्ति बढी खर्च हुने गर्छ । शरीर बलियो हन्छ, रेफ्रीले हेरिरहेको हुन्छ गर्न नहुने काम गरेमा सजाय दिइन्छ । तर इन्टरनेटमा हुने खेलहरुमा यो कुरा संम्भव छैन । त्यहाँ नियन्त्रण गर्ने कोही हुँदैन ।


त्यसैले दिमागमा क्रोध जम्मा भईरहेको हुन्छ । कम्प्यूटर गेमको कुरा केटा बच्चामा बढी लागु हुन्छ ।


९ देखि १० वर्ष भएपछि धेरैजसो बालिकाहरु फेसबुक र टिकटक चलाउने, आफूलाई राम्रो देखाउन प्रयास गर्ने, फेसबुक र टिकटकमा कतिले लाइक गरेका छन् भनेर हेर्ने, प्रशंसा के छ भनेर ध्यान दिने गर्छन् । सामाजिक सञ्जालप्रतिको आकर्षणले धेरै समय त्यसमा मानिसलाई व्यस्त बनाइरहेको हुन्छ ।


त्यो भन्दा जटिल समस्या भनेको किशोर अवस्थामा पुगेपछि अश्लिल भिडियोसम्म पुग्न सक्छन् । मोबाइल प्रयोगकर्ताको उमेर कति हो भन्ने मोबाइललाई थाहा हुँदैन । सानैबाट मोबाइलमा अभ्यस्त बाबालिकाले आफ्नो पहुँच कसरी पु¥याउने जानेका हुन्छन् ।


यसप्रकारका सामग्री हेर्न थालेपछि, मोबाइलमा गेम खेल्न थालेपछि रातको धेरै समय बच्चा सुत्दैन, जसले निन्द्रा नपुग्ने, विद्यालय जाने समय ढिला हुने, पढाई बिग्रने, अरु नै चिजमा चाख बढ्दै जाने हुन्छ र यसले उसको भविष्य नै जोखिममा पर्छ ।


इन्टरनेट फेरि हानिकारक मात्र भन्न खोजिएको हैन, राम्रोसँग प्रयोग गर्न जानियो भने यसबाट हामीलाई फाइदा पुग्छ । आध्यात्मिक चिन्तन, राम्रा पुस्तकहरु इन्टरनेटमा हेर्न सकिन्छ ।


बच्चाले इन्टरनेटलाई फाइदाको रुपमा कसरी प्रयोग गर्न सक्छन् ?

परिवारको निगरानीमा अथवा शिक्षकको साथमा अनलाइन कक्षा लिइरहेका बालबालिका यसको उदहारण हुन् । अनलाइन क्विज, डान्स, गायन प्रतियोगिता भइरहेका छन् ।


तर खाना खाँदा पनि मोबाइल, आइप्याडमा नै हेर्नु प¥यो, जे गर्दा पनि त्यही चाहियो अनि मान्छे चाहिएन भने त्यसले बेफाइदा ग¥यो । बच्चा आफै आफूलाई फाइदा पुग्ने विषयवस्तु खोजेर हेर्न जान्दैन ।


भनिन्छ बच्चाले गल्ति गरेको बेलामा गरिने व्यवहारले पनि पछिसम्म प्रभाव पार्छ ?

बिर्सनै नहुने कुरा के हो भने, यदि कुनै बच्चाले बदमासी गर्छ भने उसलाई आफूले गरेको बदमासी बुझाउन र अगाडि त्यसो नगरोस् भन्नको लागि विचार पु¥याएन भने त्यसले दीर्घकालीन असर ल्याउँछ । सानोमा हामीले गर्ने व्यवहार भनेको उनीहरुमा रोपेको बिउ हो ।


हामीले बच्चाको गल्तिलाई कहिले पनि प्रोत्साहान गर्नु हुँदैन । गल्ति भयो भने गर्न हुन्न, गलत हो भनेर सम्झाउँछौँ भने बुझ्नलाई उसले अलि समय लिन्छ, तर बुझ्छ ।


गल्ति गर्दा कुटेर, मारपिट ग¥यौँ भने उसले अर्कोपल्ट डरले नगर्ला तर कालान्तरमा उक्त बच्चामा भित्र भित्रै क्रोध, रिस जम्मा भइरहेको हुन सक्छ । यस्ता बालबालिका पछि ‘एग्रेसिभ’ व्यवहारका हुन सक्छन् ।


जस्तो जापानीहरु आफ्नो सभ्य व्यवहारका लागि पनि विश्वभर चिनिन्छिन् । बच्चाहरु पनि सानैबाट सभ्य व्यवहार गरिरहेका हुन्छन् । मैले भ्रमणको समयमा बच्चाहरुले कसरी यस्तो व्यवहार गर्न जाने भनेर सोधेको थिए ।


त्यहाँ बच्चालाई सानैबाट ३ चिज सिकाइने रहेछ,


१. हामीले आफ्नो देशलाई माया गर्नुपर्छ,

२. अरुको सामान नसोधी लिनुहुन्न, सोध्दा नम्र हुनुपर्छ, चोर्नु हुँदैन,

३. झुटो बोल्नु हुँदैन ।


जुनसुकै व्यवहार पनि सानैबाट सिकाइयो भने लामो समयसम्म रहिरहन्छ । तर पछि गएर उसलाई परिवर्तन गरौँ भन्यौँ भने संभव हुँदैन ।


वैज्ञानिकहरुले गरेको एक अध्ययनले के देखाएको छ भने मानिसको दिमागले १ सेकेन्ड भन्दा कम समयमा नै के मन पराउने के मन नपराउने भन्ने बारेमा निर्णय गरिसकेको हुन्छ, अगाडिको चिजसँग रिसाएर एक्सन लिने हो कि के गर्ने निर्णय १ सेकेण्ड भन्दा कम समयमा नै भइसकेको हुन्छ। त्यही चिज नै गडेर बस्छ, उसको दिमागमा यदि त्यो कुरा छापिएको छ भने उसले गल्ति गरेपछि ‘सरी’ भन्छ तर सुध्रिँदैन।


बच्चाको राम्रो व्यवहार विकासमा अभिभावकको के भूमिका हुन्छ ?

सन्तान जन्माउनु ठूलो कुरा हैन, तर जान्न के जरुरी छ भने कसरी राम्रो अभिभावक बन्ने ? बच्चा जन्माइसकेपछि कसरी राम्रोसँग हुर्काउने, कसरी नबिग्रियोस भनेर सिकाउने, चनाखो हुने बानी अभिभावकमा हुनुपर्छ । बच्चालाई स्कूल पठाएर राम्रो अंक ल्याउ, राम्रो जागिर खाउ, टन्न पैसा कमाउ मात्रै भन्नु गलत हो । उसलाई राम्रो मानिस कसरी बनाउने भन्ने कुरामा अभिभावकले ध्यान दिन जरुरी हुन्छ ।


बच्चालाई यस्तो व्यवहार सिकाउन आमाको बढी भूमिका हुन्छ । नेपालका सन्दर्भमा आमाभन्दा बुवा शिक्षित हुन्छन् । त्यसैले बुवाले आफ्नो जिम्मेवारी राम्ररी बहन गर्नुपर्छ । राम्ररी हुकाईएन भने बच्चाहरुमा धेरै किसिमका मनोवैज्ञानिक असरहरु पर्छ।


इन्टरनेट एडिक्सनको बारेमा थोरै कुरा गरौँ,

मैले सुरुमा नै भनेको थिए, बच्चाहरुको दिमागको न्यूरोन्समा सम्पर्क स्थापित गर्ने डेन्ड्राइर्स हुन्छ । हामीले सानो उमेरदेखि सिकाएका कुराहरु दिमागको कनेक्सनमा रहिरहन्छ, एकपल्ट नगर भन्दैमा त्यो परिवर्तन हुँदैन । त्यो कनेक्सन एडिक्सनमा परिणत हुन्छ ।


यो उदाहरण चुरोट खानेहरुमा पनि लागु हुन्छ । सिक्दाको अवस्थामा थाहा नभए पनि पछि जब चुरोट हानिकारक छ भन्ने थाहा हुन्छ तब किन उनीहरुले छोड्न सक्दैनन् ? बारम्बारको सेवनले दिमागमा कनेक्सन बनेको हुन्छ जसलाई सहजै छोड्न सकिँदैन ।


यस्तै बालबालिकाले पनि सिकेका कुराहरुको कनेक्सन्सहरु बलियो भएपछि उनीहरुको बानी परिवर्तन गराउन सहज हुँदैन । सामाजिक सञ्जालहरुमा जस्तो टिकटक, फेसबुकमा राखिएको सामग्री कतिले मन पराए, कस्ता कमेन्ट लेखे, किन रियाक्सन कम आयो भन्ने कुराले मनोवैज्ञानिक रुपमा प्रभाव पारिरहेको हुन्छ ।


केही अध्ययनहरुले किशोरअवस्थामा दिनको ४ घण्टाभन्दा धेरै इन्टरनेट चलाउनु हुँदैन भन्छ तर ५–६ घण्टा भन्दा बढी समयमा पनि छोड्न नचाहने, घरमा इन्टरनेट गयो भने रिसाउने प्रवृत्ति बालबालिका, किशोरकिशोरीमा हुन्छ ।


अर्को चम्किलो स्क्रिनले छिटो नै एडिक्सन गराउने अध्ययनले देखाएको छ ।


रातभर नसुती इन्टरनेटमा समय बिताउने बानी भएमा तनावको स्थिति सिर्जना हुन्छ, तनावले उनको दैनिकी बिगार्छ । तनाव बिस्तारै एन्जाइटिमा परिणत हुन्छ र कालान्तरमा डिप्रेशनसम्म पुग्न सक्छ । विवाहित जोडिको सम्बन्धमा समस्या आउँछ।


इन्टरनेट एडिक्सनको उदाहारण – म सँग एक बुवा दुई जवान छोरा लिएर आउनुभएको थियो । छोराहरुलाई इन्टरनेट गेममा लत बसेको रहेछ । सम्पन्न परिवारका ती छोरा गेममात्रै खेलिरहने भए, घर बाहिर पनि निस्केनन्, काम त परको कुरा ।


अर्को चाहिँ बच्चा मोबाइलमा मात्र रमाएर बस्न थाल्यो, क्याम्पस जान नमान्ने स्वभाव उसमा विकास भयो । उसलाई नखेल भन्दा रिसाउने, झगडा गर्न खोज्ने स्वभाव विकास भयो ।


यस्ता किशोर, युवामा मनोवैज्ञानिक समस्या त हुन्छ । उनीहरु आफ्नै रिस पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा हुन्छन्, जसलाई परिवारले पनि नियन्त्रण गर्न सक्दैन । यस्तो व्यवहार एक्कैपल्ट आउँदैन, बालपनदेखि नै जानी नजानी हामीले यसको जड रोप्दै रोप्दै गइरहेका हुन्छौँ, किशोर अवस्थामा यस्तरी हुर्कन्छ ।


इन्टरनेटबाट टाढा बस्ने कुुरा तर्कसम्मत छैन, स्क्रिन र डिजिटल डिभाइस मानव जीवनको महत्वपूर्ण हिस्सा बनिसकेका छन् । यस्तो अवस्थामा कस्तो बानी अवलम्वन गर्दा नकारात्मक असर पनि नपर्ला र उचित उपयोग पनि होला ?

केही औपचारिक सिकाइको लागि इन्टरनेटको प्रयोग गर्नुपर्छ तर सबैथरी यही गर्नु ठीक हैन । यस्ता साधनलाई हामीले चलाउने हो, यसले हामीलाई चलाउनु हुँदैन ।


मनोरञ्जनको लागि सकेसम्म यस्ता साधनहरु कम प्रयोग गर्न प्रयास गर्ने ।


टाढा बस्न संभव छैन, तर यसलाई कम गर्दै लैजान सकिन्छ ।


बच्चालाई पनि अनलाइन कक्षा बाहेक प्राकृतिक वातावरणमा घुमाउन जोड दिने । बच्चाहरुलाई सिकाउने कुरामा ‘कथा भन्ने’ शैली सबैभन्दा राम्रो मानिन्छ । त्यसैले बच्चाहरुलाई धेरै कथा सुनाइन्छ । अक्षर लेखाउनु पर्छ ।


विद्यालयमा बच्चाहरुलाई खेल्ने वातावरण थियो तर कोभिडले अहिले समस्या पारिहरको छ । त्यसैले उनीहरुसँग धेरै समय खेल्ने कोशिस गरौँ ।

हरेक चिजको सकारात्मक र नकारात्मक पक्षहरु छन्, राम्रो पक्षलाई धेरै ख्याल गर्नुपर्छ । रातको समयमा इन्टरनेट बन्द गर्ने र राम्ररी सुत्ने बानी बसाल्नुपर्छ ।


धेरै चलाए मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ । त्यसैले सुत्नु भन्दा एक घण्टा अगाडि यस्ता डिभाइसबाट टाढा रहनुपर्छ ।


समाजमा केही बच्चाहरु धेरै राम्रा हुन्छन्, केही अपराध गर्ने मनस्थितिका । हाम्रो भूमिका के हो भने, हामीले राम्रो अभिभावकत्व ग्रहण गरेर बालबालिकालाई राम्रो व्यवहार सिकाउनुपर्छ । किनभने एक पल्ट बानी भइसकेपछि त्यसको दिमागमा बलियो नेटवर्क बनिसकेको हुन्छ ।


त्यसलाई छुटाउन सुधार गृहमा नै लगेर राखे पनि गारो हुन्छ । दिमागको नेटवर्क तोड्न नियमित बानी परिवर्तन गर्दा कम्तीमा पनि एक महिना लाग्छ । बच्चालाई राम्रो बनाउन गर्भमा आएदेखि जन्मेर हुर्काउने समयमा बाबुआमा र परिवारका सदस्यको ठूलो भूमिका हुन्छ ।


देशसञ्चारबाट

Đăng ký kênh để mở khoá nha

0.0/5
0 ratings
5
0 votes
4
0 votes
3
0 votes
2
0 votes
1
0 votes