एमालेको स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सक्नुपर्ने
बेनी
साउन १७
नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि समयसीमा तोकेको छ । आइतबार बसेको स्थायी कमिटी बेठकले आगामी असोज ९ गतेभित्र देशभरका पालिकास्तरको निर्वाचन गरिसक्ने निर्णय गरेको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको सो पार्टीको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव ईश्वर पोखरेलले यस्तो जानकारी दिएका हुन् । भोलि सोमबार दिउँसो ३ बजे स्थायी कमिटी बैठक आह्वान गरिएको र यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको पनि महासचिव पोखरेलले जनाएका छन् ।
नेकपा (एमाले)को विधानमा दुई ओटा अध्यक्षको कल्पना नभएको बताउँदै पोखरेलले २०७५ जेठ २ गते फर्किने निर्णयभित्रै समस्याको समाधान लुकेको बताएका थिए ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको छलफलका लागि केही दिन कुरेको एमालेले अब धेरै समय पर्खिन नसकिने बताएको थियो ।
