बेनी नगरपालिकाले ल्यायो ६६ करोडको बजेट
बेनी
असार १०
जिल्ला सदरमुकामसमेत रहेको बेनी नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बिहीबार बेनीमा आयोजित नवौं नगर सभामार्फत ६६ करोड पाँचलाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । नगरसभामा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले उक्त रकम बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
नगरसभामा पेश गरिएको बजेटमध्ये पूर्वाधार विकासको क्षेत्रमा कुल तीन करोड ५० लाख, सामाजिक विकास क्षेत्रमा एक करोड ७५ लाख, आर्थिक विकासमा एक करोड ४० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ७५ लाख, संस्थागत विकास तथा सुशासनतर्फ ३० लाख रकम बजेट विनियोजन गरिएको उपप्रमुख बरुवालले बताइन्।
१० वटा वडाहरु रहेको बेनी नगरपालिकाको १, ४, ६ र १० नम्बर वडालाई ६५ लाखका दरले, २, ३, ५ र ९ नम्बर वडालाई ७० लाखका दरले तथा ७ र ८ नम्बर वडालाई ६०÷६० लाखका दरले कुल छ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिएकी छन् ।
बजेटमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि ५० लाख, वर्षाले प्रभावित पारेका सडकको स्तरोन्नति गर्न ७० लाख र नगरका विविध कार्यक्रम सम्पन्न गर्न समपुरक कोषमा तीन करोड ८५ हजार रकमको व्यस्था गरिएको छ ।
नगरसभामा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आगामी आ.व.को लागि आर्थिक तथा सामाजिक क्षेत्र, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार विकास, सुशासन तथा सेवा प्रवाहलगायतका विषय समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले कोरोना रोकथामको कार्यलाई थप व्यवस्थित बनाउने, सङ्घीय सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित आर्थिक समृद्धिका क्षेत्रलाई प्राथमिकता दिइने, नगर क्षेत्रको कृषिलाई आधुनिकीकरण र विविधिकरण गरी व्यावसायिकरणमा प्राथमिकता दिनुका साथै नगर क्षेत्रका पर्यटकीयस्थलको विकासमा जोड दिइने बताए ।
बिहीबार प्रस्तुत बजेट, नीति तथा कार्यक्रममाथि आउँदो आइतबारको नगरसभाको वैठकमार्फत छलफल गरी आवश्यक संशोधनसहित पारित गर्नेगरी आजलाई नगरसभा स्थगित भएको छ ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले सबै स्थानीय सरकारले असार १० गतेभित्र आउँदो वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

